कीवर्डहरू -

भाेलिदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सञ्चालन हुँदै

भाेलिदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय क्यान इन्फोटेक मेला सञ्चालन हुँदै

पोखरा। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित ‘भायनेट क्यान इन्फोटेक–२०१९ इन एशोसियसन विथ आइएमई पे’ भाेली फागुन २० गतेदेखि सञ्चालन हुँदै छ । 

यसअघि १८ गतेबाट हुने भनिएकाे मेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै २ दिनपछि सारिएकाे हाे । 

दसौं संस्करणको प्रदेश स्तरीय क्यान इन्फोटेकसँगै सातौं सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल पनि प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । फागुन २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताए ।

‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पुर्याउने लक्ष्य हामीले राखेका छौं,’ उनले भने । इन्फोटेकको तयारीका क्रममा गण्डकी प्रदेशका ९ जिल्लामा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

इन्फोटेकमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधिहरु प्रदर्शनी, मोबाइल गेमिङ, वैज्ञानिक आइसिटी उपकरण प्रदर्शनी एवं नवीनतम प्रविधिका मोबाइलहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेककै अवसरमा क्यान कास्कीले दृष्टिबिहीनहरुलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गरिरहेको छ । तालिममा २१ जना सहभागी छन् । अघिल्लो वर्ष गृहिणीहरुलाई तालिम प्रदान गरिएको थियो । इन्फोटेकमा सूचना, प्रविधिसँग सम्बन्धित १ सय भन्दा बढी स्टलहरु रहनेछन् । इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिने प्रथम उपाध्यक्ष नविन पौडेलले जानकारी दिए । ‘सामाजिक क्षेत्रमा पनि हामीले योगदान पुर्याउनेछौं,’ उनले भने ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको संयोजकत्वमा गठिन २६ वटा विभिन्न उपसमितिहरुले आआफ्नो जिम्मेवारी पुरा गरिसकेको उपाध्यक्ष विश्वास भण्डारीले जानकारी दिए । इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ ।

इन एसोसिएसन विथमा आइ.एम.इ.पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, डाइमन्ड स्पोन्सरमा डिजिकम र जेरक्स, होटल पार्टनरमा होटल मुनस्टोन, एजुकेसन सपोर्टमा ओम डेभलपमेन्ट बैंक र इन्फरम्याटिक्स कलेज, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक ट्रेडर्सले साथ दिएको छ ।