कीवर्डहरू -

नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर 

नेपालमा व्यवसाय विस्तार गर्दैछौं, कार्यालय पनि स्थापना हुँदैछः इनड्राइभर 
इनड्राइभरकी दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दा

पछिल्लो समय नेपालमा राइड शेयरिङ सेवा लोकप्रिय हुँदै गइरहेको छ । विशेष गरी काठमाडौं उपत्यकामा यस्तो सेवा धेरै लोकप्रिय छ । राइड शेयरिङका लागि धेरै कम्पनीहरू बजारमा छन् ।

नेपाली राइड शेयरिङ बजारमा ‘इनड्राइभर’ नामक अन्तर्राष्ट्रिय कम्पनी पनि प्रवेश गरेको छ । गत अप्रिलदेखि नेपालमा सेवा दिन थालेको छ । तर अफ्रिलदेखि सेवा सुरू गरेको इनड्राइभर नेपालमा दर्ता नभएको भन्दै तीब्र आलोचना भइरहेको छ ।

आलोचनाका बीच इनड्राइभरले भने नेपालमा कम्पनीका दर्ताको प्रक्रिया सुरू गरेको जानकारी दिएको छ । इनड्राइभरकी दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दा यतिबेला नेपालमा छिन् । आइसिटी समाचारसँगको भेटघाटमा उनले नेपालमा दर्ताको प्रक्रिया सुरू भएको जानकारी दिइन् । चाँडै नेपालमा इनड्राइभरले कार्यालय पनि स्थापना गर्दैछ ।

‘हामीले अवैध काम गरेका छैनौं र फेक पनि होइनौं । नेपालमा गम्भीर भएरै काम गरिरहेका छौं,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भनिन्, ‘चाँडै हामी नेपालमा कार्यालय पनि राख्दै छौं ।’

इनड्राइभर अप्रिलदेखि नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको हो । त्यसभन्दा अगाडि बेटा परीक्षणको रूपमा सेवा सुरू गरेको थियो । नेपालसहित ४२ वटा देशमा सञ्चालन भइरहेको इनड्राइभरका १०० मिलियन प्रयोगकर्ता छन् ।

काठमाडौं उपत्यकामा सेवा सुरू गरेको इनड्राइभरले कम्तिमा ६ महिना कमिसन नलिने घोषणा गरेको छ ।  त्यसपछि पनि अन्य राइड शेयरिङको तुलनमा शुल्क कमिसन कम नै हुने जनाएको छ । कम्पनीले नेपालमा राइड शेयरिङ, इन्टरसिटी र कुरियर सेवा उपलब्ध गराइरहेको छ ।

नेपालमा अहिले इनड्राइभरको सेवा उपलब्ध भएपनि बिजनेस सुरू नगरेको नन्दा बताउँछीन् । उनका अनुसार इनड्राइभरले अहिलेसम्म नेपालबाट आम्दानी गरेको छैन् र  चाँडै बिजनेस मोडल सुरू गर्दैछ ।

इनड्राइभर अहिले नेपालमा इनड्राइभर भर्चुअल रूपमा सञ्चालन भइरहेको छ । तर ग्राहक सेवाका लागि इनड्राइभरले नेपालमा ‘डेडिकेटेड टिम’ राखेको छ ।

‘हामीले नेपालमा डेडिकेटेड टिम राखेका छौं, जसले अन्य शहरमा सेवा विस्तारैको अध्ययनका साथै ग्राहक सेवा उपलब्ध गराइरहेको छ,’ नन्दा भन्छिन् ।

ड्राइभर भेरिफिकेसन प्रक्रियामा समेत सो टिमले काम गरिरहेको छ । इनड्राइभरमा चालकलाई आवद्ध हुन केही समस्या भएमा टिमले सहजीकरण गर्ने बताइएको छ ।

इनड्राइभरमा भेरिफिकेसनका लागि फोटो, ड्राइभिङ लाइसेन्स, ब्लुबुक, नम्बर प्लेट देखिने गरि फोटो, ड्राइभिङ लाइसेन्स वा अन्य मान्यताप्राप्त राष्ट्रिय कार्डसहितको सेल्फी आवश्यक पर्छ ।

सबै डकुमेन्ट बुझिने गरी राखेपछि मात्रै इनड्राइभरमा चालक आवद्ध हुन सक्ने उनी बताउँछिन् । इनड्राइभरमा यात्रु र चालक दुवैले भाडाका लागि सम्झौता गर्न सक्छन् ।

यदी एउटा यात्रुले एउटै मूल्यमा धेरैवटा प्रस्तावहरू प्राप्त गरेमा व्यक्तिले चालक आउने समय, मूल्य, गाडी मोडेल र चालकको मूल्यांकनको आधारमा प्रस्ताव छनोट गर्न सक्छन् ।

\"\"

केही समय अगाडि इनड्राइभरका चालक दुर्घटनापछि घाइतेलाई छोडेर भागेका थिए । त्यसपछि झनै इनड्राइभरको आलोचना भएको थियो । तर ग्राहकको सुरक्षालाई गम्भीरता पूर्वक लिएको नन्दाको भनाइ छ ।

‘इनड्राइभरलाई सुरक्षित बनाउन हामी प्रतिवद्ध छौं । हाम्रा लागि चालक र यात्रु दवै ग्राहक हुन्,’ उनी भन्छिन्, ‘हामीले ड्राइभर हायर गरेका छैनौं । ग्राहकको सुरक्षाका लागि हाम्रो टिम २४ सै घण्टा तल्लिन छ ।’

यदी दुर्घटना भएमा मोबाइल एपबाटै नजिकैको प्रहरी कार्यालयलाई सम्पर्क गर्न सकिन्छ । त्यसपछि इनड्राइभरले आवश्यक सेवा उपलब्ध गराउनेछ । नेपालमा सेवा सुरू गरेपछि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न कार्यक्रम गर्न सुरू गर्ने तयारी गरेको छ ।

सीएसआर अन्तर्गत नेपालमा २ वटा कार्यक्रम सुरू गर्न लागेको नन्दाले बताइन् । कम्पनीले यो वर्षको अन्त्यमा महिला प्रविधि उद्यमीका लागि इनड्राइभर टेक अवार्ड्स गर्दैछ भने गाउँगाउँका विद्यार्थीका लागि ‘बिगिन आईटी’ कार्यक्रम पनि सुरू गर्दैछ । सन् २०१२ मा विश्वव्यापी रूपमा सुरू भएको बिगिन आईटी कार्यक्रममा अनाथालय र गाउँ गाउँका विद्यालयहरूलाई  प्रविधिसँग जोड्ने गर्दछ ।

यसका लागि वेबसाइटमा गएर रजिष्टर गर्न सकिन्छ । त्यसपछि इन्ड्राइभरले सम्पर्क गर्नेछ । सहभागी विद्यालयलाई इनड्राइभरले प्राविधिक उपकरण, प्रोग्रामिङ पाठ्यक्रम र तालिमका लागि आर्थिक सहायता प्रदान गर्नेछ ।

यो पनि पढ्नुहोस्ः चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता)

We don't take commission from the drivers till six months, even after that it will be less compared to others: Pavit Nanda (Interview)

चालकको आईडी प्रमाणीकरणका लागि कुनै पनि शुल्क लिदैनौः इनड्राइभर