कीवर्डहरू -

सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि

सम्पन्न भयो देशकै पहिलो हेल्थ ह्याकाथन, टिम शिशुकेयरले जित्यो प्रथम उपाधि

काठमाडौं । देशमै पहिलोपटक आयोजना भएको हेल्थ फर ह्याकाथन प्रत्योगिताको प्रथम उपाधी टिम ‘शिशुकेयर’ ले जितेको छ । वीपी काईराला स्वास्थ प्रतिष्ठान धरानको ईहेल्थ एण्ड टेलिमेडिसिन कार्यक्रमले ललितपुरको इन्ट्रान्स क्याफेमा गत शुक्रबार र शनिबार उक्त प्रत्योगिताको आयोजना गरेको थियो ।

‘ह्याकिङ कमन हेल्थ प्रोबलम्सः प्रोभाइडिङ अनकमन बट प्राक्टिकल एण्ड ह्युमन सेन्ट्रिक सोल्युसन्स’ नारा सहित आयोजना भएको उक्त ह्याकाथनमा विभिन्न पृष्ठभूमिका २५ जना सहभागी भएका  थिए । सहभागी हुनेमा इन्जिनियरिङ, आईटी र स्वास्थ क्षेत्रका विद्यार्थी तथा पेशाकर्मीहरु रहेका थिए ।

कार्यक्रमको पहिलो दिन ह्याकाथनबारे सहभागी प्रतिस्पर्धीहरुको ज्ञान बढाउन युनाइटेड नेसन्स इन्सिट्युट फर ट्रेनिङ एण्ड रिसर्च युनिटारको सहयोगमा अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । त्यसपश्चात सम्पूर्ण सहभागीलाई ५ ओटा टोलीमा विभाजन गरी विज्ञहरुले प्रस्ताव गरेको ५ ओटा स्वास्थ चुनौतीहरुको समाधान खोज्न दिइएको थियो ।

उक्त प्रतिस्पर्धामा आइओई पूलचोकका सम्पन्न दाहालले नेतृत्व गरेको रन्जु जीसी, आयुष पौडेल र रिया अधिकारीको टिम शिशुकेयरले प्रथम उपाधी सहित ६० हजारको पुरस्कार जित्न सफल भएको थियो । टिम शिशुकेयरले नवजात शिशु समस्याबारे छलफल गर्न सामुदायिक स्वास्थ स्वयम्सेवक र शिशु चिकित्सकलाई जोड्ने एप प्रोटोटाइप प्रस्तुत गरेको थियो । उक्त एपमा नवजात शिशुको समस्याको गम्भिर्यतालाई समेत मापन गर्नलाई सहज बनाउन अत्याधिक सोधिने प्रश्नउत्तरहरु समेत राखिएको थियो ।

\"\"

यसैगरी आईओईकै अर्का विद्यार्थी सन्दिप पुरीले नेतृत्व गरेको टिम सहयात्री दोस्रो स्थानमा पर्न सफल भएको थियो । उक्त टिमले अस्पताल नेभिगेसन सिस्टमको मोबाइल प्रोटोटाइप निर्माण गरेको थियो । टिममा सुप्रिया खड्का, सन्देश पोखरेल, उषा बस्नेत र महेश चौधरी रहेका थिए । टिमले ४० हजार रुपैयाँको नगद पुरस्कार जितेको थियो ।

आईओईकै मौसम बस्नेतले नेतृत्व गरेको टिम स्प्रिङ तेस्रो स्थानमा पर्न सफल भएको थियो । उक्त टिमले स्वास्थ क्षेत्रमा देखिने सामान्य समस्यामा छलफल गर्न स्वास्थकर्मीहरुका लागि एउटा साझा मोबाइल तथा वेब एप्लिकेसनको प्रोटोटाइप तयार गरेको थियो । टिमले २० हजार रुपैयाँको नगद पुरस्कार जितेको थियो । सो टिममा भावना सेन, आशुतोष सेढाई, सुदिप सेठ रहेका थिए ।

\"\"

ह्याकाथनमा सहभागी सम्पूर्ण टिमलाई विभिन्न क्षेत्रका विज्ञहरु डा. अबिस अधिकारी, जानकी जोशी, आकार अनिल घिमिरे र शैलेश मान सिंह लगायतले मेन्टरसिप प्रदान गरेका थिए ।

कार्यक्रमको जुरी प्यानलमा प्राध्यापक डा. नरेन्द्र भट्ट, डा. सुभाष प्याकुरल र देशकै पहिलो भीएपीटी सेवाप्रदायक कम्पनीका संस्थापक सर्टिफाइड सिस्टम अडिटर सरोज लामिछाने रहेका थिए ।

ह्याकाथनको आयोजक बीपीकेआइएचएस ई हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका संयोजक डा. प्रमिन्द्र प्रसाद गुप्ताले सहभागीहरुबाट आएको नवप्रवर्तन तथा समाधानमुखी आईडियाहरुलाई सदुपयोग गरी आगामी दिनमा एप तथा सिस्टमहरु निर्माण गर्ने बताएका छन् ।

\"\"