कीवर्डहरू -

आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना

आईटी ट्रेनिङ दिने कम्पनी दूरशिक्षाको पहिलो फ्रेन्चाइज पोखरामा, सातै प्रदेशमा खोल्ने योजना

सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने कम्पनी दूरशिक्षा अब गण्डकी प्रदेशमा पनि विस्तार हुने भएको छ । पोखरामा दूरशिक्षाको फ्रेन्चाइज शाखा खोल्नका लागि आईतबार सम्झौता भएको हो ।

दूरशिक्षाका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पाण्डेले दूरशिक्षाको पहिलो फ्रेन्चाइजको रूपमा पोखरामा सेवा विस्तार हुन लागेको जानकारी दिए ।

‘हाम्रो ब्राण्ड प्रयोग गर्ने गरी लाइसेन्स लिएर पोखरामा पनि दूरशिक्षा विस्तार हुँदैछ,’ उनले आइसिटी समाचारसँग भने, ‘फ्रेन्चाइज लिएकाले दूरशिक्षाले पढाउने सबै कोर्ष पढाउन सक्छन् । पोखरामा पढाइ नहुने एडभान्स तहका कोर्ष दूरशिक्षाले काठमाडौंबाट अनलाइन लाइभ ट्रेनिङ प्रदान गर्नेछ ।’

फ्रेन्चाइज लिएकालाई प्रमाणपत्रदेखि मार्केटिङसम्मको सहयोग केन्द्रिय कार्यालयबाटै हुनेछ । क्वालिटी कन्ट्रोल पनि सबै केन्द्रिय कार्यालयबाटै हुनेछ ।

पोखरापछि बुटवल र चितवनमा फ्रेन्चाइजको रूपमा सेवा विस्तार हुन लागेको उनले जानकारी दिए । सातै प्रदेशमा दूरशिक्षाको सेवा विस्तार गर्ने कम्पनीको योजना छ ।

दूरशिक्षाले प्रोग्रामिङ एण्ड फ्रेमवर्क, क्लाउड कम्प्युटिङ, सफ्टवेयर टेस्टिङ, मोबाइल एप डेभलपमेन्ट, डिजिटल मार्केटिङ, वेब डेभलपमेन्ट, प्रडक्ट इन्जिनियरिङ लगायतका ट्रेनिङ दिदै आएको छ ।

दूरशिक्षाले निमा एकेडेमीसँगको सहकार्यमा जुनियर मेगामाइण्ड अन्तर्गत बच्चाहरूलाई कोडिङ र एआई सम्बन्धि तालिम पनि प्रदान गरिरहेको छ ।

‍काठमाडौंको जमलमा केन्द्रिय कार्यालय रहेको दूरशिक्षाले पढ्ने विद्यार्थीहरूलाई रोजगारीको अवसर समेत दिदै आएको छ । दूरशिक्षाले २५ बढी संस्थासँग प्लेसमेन्टका लागि सहकार्य गरेको छ ।