कीवर्डहरू -

एटिएमबाट पानी !

वाटर एटिएम सञ्चालनमा

एटिएमबाट पानी !

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाले नेपालमा पहिलो पटक वाटर एटिएम सञ्चालनमा ल्याएको छ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटिएमको उद्घाटन गरेकी छिन्। उनले एटिएमबाट पानी झारेर पिएकी थिइन्। यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिए। वाटर एटीएम काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गरिने राणाले जानकारी दिए।


मन्त्री मगरले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँकतै चुक्न नदिन बोर्डलाई निर्देशन दिएकी छिन्। “हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं। जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटिएम एकदमै उपयोगी छ। धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ” उनले भनिन्।

\"\"
वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ। एटिएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन  सकिन्छ। २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ।  एटिएममा दुई रुपैँयाको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटिएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ।


बोर्डले सुपिङ ईन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो। वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ।