कीवर्डहरू -

१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक

१९ औं संस्करणको प्रविधि मेला लोकसको थिम सार्वजनिक

१९ औं संस्करणको लोकसको थिम तयार भएको छ । साउन २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा लोकस २०२३ को थिम सार्वजनिक गरिएको हो ।

यस वर्षको लोकसको थिम ‘डिजिटलाइजेसन एण्ड इन्टेलिजेन्ट अटोमेसनः रिसेपिङ दी फ्युचर’ राखिएको छ । थिम सार्वजनिक कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथि मन्त्री कार्कीले औंद्योगिकरण र इन्नोभेसनबीचको ग्यापलाई कम गर्न युवालाई प्रोत्साहित गर्नुपर्ने बताए ।

कार्यक्रममा विशेष अतिथिको रूपमा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधर राम जोशी र प्रधानमन्त्री कार्यालयका आईटी विज्ञ दिपेश विष्टको उपस्थिति थियो ।

विष्टले डिजिटाइजेसन, डिजिटलाइजेसन र डिजिटल रूपान्तरणको अन्तर बताएका थिए । उनले लोकस २०२३ को थिम डिजिटल नेपाल फ्रेमवर्कसँग मेल खाने बताए ।

\"\"

त्रिभुवन विश्वविद्यालयको आईटी इन्नोभेसन सेन्टरका प्रमुख प्रा.डा. सुवर्ण शाक्यले लोकसले विद्यार्थीलाई क्रियटिभ, इन्नोभेटिभ र प्रतिस्पर्धी बनाउने जानकारी दिए ।

त्यसैगरी लोकस २०२३ का संयोजक तपेन्द्र पाण्डेले विद्यार्थीहरूको आईडिया तथा इन्नोभेसन प्रस्तुत गर्ने लोकस उत्कृष्ट ठाउँ भएको बताए । उनले उद्योग र प्राज्ञिक क्षेत्रबीच देखिएको ग्यापलाई कम गर्न प्रविधिमैत्री नीति बनाउन सरकारसँग माग गरे ।

हरेक वर्ष माघमा हुँदै आएको लोकस यस वर्ष पनि माघको दोस्रोसाता आयोजना गर्ने तयारी गरिएको छ । ३ दिने प्रविधि मेला आयोजना हुनुभन्दा अगाडि प्रि-ईभेन्टको रूपमा विभिन्न प्रतियोगिता, वर्कशप, टक शो, क्विज लगायतका कार्यक्रम आयोजना हुनेछन् ।

यसअघि प्रिइभेन्टको रूपमा हार्डवेयर फ्लोसिप, सफ्टवेयर फ्लोसिप, भिडियो वर्कशप र पीसीबी डिजाइनका कार्यक्रम सम्पन्न भइसकेका छन् । प्रिईभेन्टका बाँकी कार्यक्रम मंसिरमा गर्ने लोकसको तयारी छ ।

‘डिजिटलाइजेसन एण्ड इन्टेलिजेन्ट अटोमेसनः रिसेपिङ दी फ्युचर’ थिम अनुसार विद्यार्थीहरूले परियोजना बनाएर माघमा हुने लोकसको मेलामा देखाउन सक्नेछन् ।

\"\"

थिम अनुसारका बाहेक विद्यार्थीले बनाएका अन्य परियोजना पनि प्रदर्शनीमा राख्न सकिने छ । नेपालभरका कलेज तथा विद्यालयहरूले लोकसमा आफ्नो ज्ञान र सीप देखाउन सक्नेछन् । यस पटकको लोकस मेला ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पुल्चोक क्याम्पसमा स्नातक तहमा अध्ययन गर्ने इलेक्ट्रिकल्स, इलेक्ट्रोनिक तथा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरुले हरेक वर्ष ‘लोकस’ आयोजना गर्दै आएका छन् । सन् २००३ देखि नै लोकस आयोजना भइरहेको छ ।