नबिल बैंकको एटीएम मेसिनबाट अब कार्ड नभएपनि पैसा झिक्न सकिने भएको छ । यसका लागि बैंकले नबिल ‘मोबाइल क्याश सेवा’ सुरू गरेको छ ।
एटीएम कार्ड बिना नै एटीएम मेशिनबाट पैसा झिक्न तपाईले आफ्नो एटीएम कार्ड नबिल बैंकको मोबाइल बैंकिङ एपमा लिंक गरेको हुनुपर्नेछ ।
नबिल मोबाइल क्याश सेवा प्रयोग गरेर एकपटकमा २५ हजार र प्रतिदिन १ लाखसम्म रकम झिक्न सकिने बैंकले जनाएको छ । त्यस्तै मासिक ४ लाख रूपैयाँसम्म झिक्न सकिने छ ।
यसका लागि सुरूमा तपाई नबिल बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ता हुनुपर्नेछ । त्यसपछि आफ्नो नम्बर र पासवर्ड राखेर लगइन गर्नुस् । अनि त्यहाँ मोबाइल क्याश भन्ने अप्सन देख्नुहुनेछ, त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि आफुले निकाल्न चाहेको रकम र रिमार्क्स राखेर सबमिट गर्नुहोस् ।
सबमिट गरेपछि तपाईलाई एउटा वान टाइम पासवर्ड प्राप्त हुनेछ । ओटीपीको ३० मिनेटका लागि मान्य हुनेछ । उक्त कोड पाएपछि नजिकको नबिल बैंकको एटीएममा जानुहोस् ।
त्यसपछि एटीएम मेसिनमा कार्डलेस भन्ने फिचर देख्नुहुन्छ । त्यसमा गएर ओटीपी कोड र झिक्न चाहेक रकम राख्नुपर्नेछ । याद राख्नुहोस् मोबाइल बैंकिङ एपबाट झिक्न चाहेको रकम र एटीएममा गएर राखेको रकम एउटै हुनुपर्नेछ ।