आउँदो भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा लागु हुने भएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा काठमाण्डौको सोल्टी होटलमा आयोजित मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) को संयुक्त कार्यशालामा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागु गर्ने प्रतिवद्धता जनाएका थिए ।
एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाईल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । भदौ ३० पछि अवैध रूपमा नेपाल भित्रिएका मोबाइल चल्ने छैनन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रही सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागु गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएसको सुरुवात हुने र यसको दुई देखि तीन महिनामा शतःप्रतिशत लागु हुने बताएका थिए । त्यो दुई-तीन महिनाको समयमा पुराना फोनलाई दर्ता गर्ने समयावधि प्रदान गरिने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्ः
के तपाईले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुभयो ? यस्तो छ अनलाइनबाटै दर्ता गर्ने तरिका