कीवर्डहरू -

रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू

रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू

रासायनिक मल बिक्री वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन ‘ई बिडिङ’ प्रणाली लागू गरिएको छ । देशभरका मल बिक्री वितरण गर्ने डिपोहरूले आफू खुसी मल बिक्री गरेको, आफ्ना नजिकलाई मात्र दिएको, मल लुकाएको जस्ता आरोप लाग्ने गरेको छ ।

यो प्रणाली लागू भएपछि ती सबै आरोपबाट मुक्ति पाउने विश्वास कृषि सामग्री कम्पनी लिमिटेडले गरेको छ । कतिपय डिपोमा मल हुँदा हुँदै मल नभएको भनि किसानलाई ढाँट्ने गरेको गुनासो आउने गरेको छ ।

अब कुन ठाउँमा कति मल छ, कति बिक्री भइसक्यो, कुन सहकारीले कति लग्यो जस्ता कुरा जहाँबाट पनि हेर्न सकिने गरी प्रणाली निर्माण भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले रासायनिक मल बिक्री वितरणका लागि डिजिटल वितरण प्रणाली लागू गरिएको बताए । यो प्रणाली लागू भएपछि किसानले मल खरिद गर्दा ठगिने समस्याबाट मुक्त हुनुका साथै मलमा हुने अनियमितता तथा चुहावट पनि रोकिने उनले बताए ।

कृषि सामग्री कम्पनीका सातवटै प्रदेशका प्रादेशिक कार्यालय र गोदाम तथा डिपोमा लागू गरिएको उनले जानकारी दिए ।

कम्पनीबाट कुन सहकारीले कति मल लगे, कुन स्थानीय तह वा पालिकामा कति मल गयो, कति बाँकी छ लगायतका विवरण जहाँबाट पनि एक साथ हेर्न सकिने गरी यो प्रणालीमा निर्माण गरिएको उनले जानकारी दिए ।

हरेक ठाउँको तथ्याङ्क सफ्टवेयरमार्फत अध्यावधिक गरिने बताउँदै प्रमुख कार्कीले त्यसको नियन्त्रण तथा अनुगमन केन्द्रले गर्ने जानकारी दिए । जुन डिपो जहाँबाट जति मल बिक्री गरे पनि दिनदिनै सो प्रणालीमार्फत अपडेट गर्नुपर्ने हुन्छ । गोरखापत्र