डिजिटल वालेट खल्तीबाट अब ५० सेकेण्डमै मुभी टिकेट काट्न सकिने भएको छ । यसका लागि खल्ती र क्युएफएक्स सिनेमाबीच सम्झौता भएको छ ।
मंगलबार लबिम मलमा आयोजना भएको एक कार्यक्रममा खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का र टिम क्वेस्टकी महाप्रबन्धक प्रशंसा पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त कार्यक्रममा नायिक पुजा शर्माको समेत उपस्थिति रहेको छ । कार्यक्रममा शर्माले खल्तीबाट मुभी टिकट काट्न एकदमै सजिलो भएको बताइन् ।
‘म धेरै एप चलाउने मान्छे होइन् । तर खल्तीबाट मुभी टिकेट बुकिङ गर्ने प्रक्रिया सजिलो रहेछ,’ उनले भनिन्, ‘हलमा गएर टिकट काट्न लाइन बस्ने प्रक्रियालाई अन्त्य गर्न क्युएफएक्स र खल्तीबीच सहकार्य भएको छ ।’
यो सहकार्यसँगै खल्ती प्रयोगकर्ताले क्युएफएक्सको टिकेट अब ५० सेकेण्डमै काट्न सक्ने कम्पनीको भनाइ छ । खल्तीका सीईओ विनय खड्काले मुभी बुकिङ अनुभवलाई अझै सजिलो बनाउने बताए ।
प्रयोगकर्ताले खल्तीबाटै आफुले पायक पर्ने क्युएफएक्स सिनेमा हल, समय र सीट छनोट गरेर मुभी टिकेट खरिद गर्न सक्ने छन् ।
वालेटबाटै ५० सेकेण्डमै मुभी टिकेट खरिद गर्ने सुविधा दिने खल्ती पहिलो वालेट भएको खड्का बताउँछन् । खल्तीका अनुसार मुभीसँग सम्बन्धित अफर, क्यासब्याक आउँदै छन् ।
यसअघि क्युएफएक्सको मोबाइल एप र वेबसाइटबाट मुभी टिकट काट्न सकिने व्यवस्था थियो । अब त्यसमा खल्ती समेत थप भएको छ । सहकार्य भएसँगै खल्ती अब क्युएफएक्सको पेमेन्ट पार्टनरको रूपमा आवद्ध भएको छ ।
क्युएफएक्सका अहिले ११ ठाउँमा उपलब्ध रहेको छ भने अब वीरगंजमा केही हप्तामै खुल्दैछ । क्युएफएक्स सिनेमाज टिम क्वेस्ट प्रालिले सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा टिम क्वेस्टकी महाप्रबन्धक पाण्डले नेपालमा सिनेमा हलको अनुभवलाई आधुनिक बनाउन क्युएफएक्सले नेतृत्वदायी भूमिका खेलेको बताइन् । खल्तीसँगको सहकार्यले ग्राहकलाई राम्रो मुभी अनुभव प्रदान गर्ने उनले बताइन् ।
त्यसैगरी कार्यक्रममा खल्तीका सह-संस्थापक अमित अग्रवालले अहिले पनि ८० प्रतिशत मुभि टिकेट अफलाइन बुकिङ हुने जानकारी दिए । ‘अझै पनि ८० प्रतिशत मुभी टिकेट अफलाइनबाट हुन्छ,’ अग्रवालले भने, ‘कहिलेकाँही मुभीमा फरक पर्छ । कुनै कुनै विदेशी मुभी आउँदा अनलाइन बुकिङ एकदमै राम्रो हुन्छ । नेपाली मुभीको हकमा अझै पनि ८० प्रतिशत अफलाइनबाटै टिकट खरिद हुन्छ ।’
सम्झौता पत्र आदानप्रदान गर्दै महाप्रबन्धक पाण्डे (बाँया) र सीईओ खड्का (दाँया)
अहिले खल्तीबाट क्युएफएक्सको बागेश्वरी हलबाहेक अरू सबै टिकट काट्न सकिने छ । नेपालगञ्जको बागेश्वरी हल पनि चाँडै लाइभ हुने कम्पनीले खल्तीले जनाएको छ । त्यस्तै वीरगंजमा खुल्दै गरेको हल पनि दशैं तिहारको बीचमा लाइभ हुने अग्रवाल बताउँछन् ।
भविष्यमा मुभी हेर्ने बेला अनलाइनबाटै सिटमा खाना आउनु पर्ने उनले बताए । खल्तीले सधैं यस्तो इन्नोभेसनमा काम गर्न खोज्ने उनको भनाइ छ ।
खल्तीले विगत ६ वर्षदेखि नेपाललाई डिजिटल बनाउने अभियान अनुरूप काम गरिरहेको छ ।
५० सेकेण्डमै कसरी काट्ने मुभी टिकेट ?
सुरूमा तपाईको मोबाइलमा खल्ती एप डाउनलोड गर्नुहोस् । त्यसपछि ‘मुभि’ भन्ने अप्सनमा छनोट गर्नुहोस् । अनि कुन मुभिको टिकट बुकिङ गर्ने हो, त्यो छनोट गर्नुहोस् ।
त्यसपछि कुन हलमा, कहिलो लागि र कुन समयको टिकट काट्ने हो, त्यो निश्चित गर्नुहोस् । यति गरेपछि आफुलाई मन पर्ने सिट छनोट गरेर टिकट काट्न सक्नुहुनेछ ।