आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाएको छ । शुक्रबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजन लम्सालसहितको टिमले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई १०० पृष्ठको विस्तृत प्रतिवेदन हस्तान्तरण गरेको हो ।
उक्त प्रतिवेदन मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र सूचना विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठलाई समेत बुझाइएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा विशेष छलफल र अन्तर्क्रिया समेत भएको छ । गत असार ४-५ गते काठमाडौंको सोल्टी होटलमा ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एशोसिएसन विथ इन्फो डेभलपर्स कनेक्ट बाई एनसेल’ आयोजना भएको थियो ।
२ दिनसम्म चलेको उक्त कार्यक्रममा डिजिटल नेपाल अवधारणा, नीतिगत समस्या र आगामी योजनाका बारेमा सरोकारवाला निकायसँग वृहत छलफल भएको थियो । उक्त छलफलको सारका रूपमा प्रतिवेदन प्रकाशित भएको हो ।
गत चैतदेखि जेठसम्म आइसिटी फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेशको अवस्था, समस्या, चुनौती र योजना बारे बुझ्न ‘डिजिटल प्रदेश संवाद’ आयोजना गरेको थियो ।
उक्त संवादपछि फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेशको अवस्था कस्तो छ भनेर ‘डिजिटल प्रदेश परिदृश्य’ नामक १०० पृष्ठको प्रतिवेदन समेत प्रकाशित गरेको छ ।