हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबले हेर्दा हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो ध्यानलाई तान्ने एक प्रकारको चुम्बक भइसकेको छ ।
निःशुल्क चलाऊने समाजिक सञ्जाल वास्तवमा निःशुल्क नभएर हाम्रो समय र व्यक्तिगत गोपनीयताको ठूलो मुल्य चुकाउनु परिरहेको छ । अझ अचम्म त यसबाट पैदा हुने समस्याहरुको बारे हामी धेरैलाई थाहै छैन ।
डोपामिन मोबाईल चलाउँदा हाम्रो शरीरमा उत्पन्न हुने एक प्रकारको उत्साह पैदा गर्ने हर्मोन हो । यसको लत निकोटिन, अल्कोहल, धुम्रपान, कोकिन लगायतको सेवन गर्दा पैदा हुने जस्तै छ ।
अझ साना साना बालबालिकाहरूको हातमा मोबाईल फोन दिनु र उनीहरुलाई यसको लत लाग्न दिनु लामो समयको दृष्टिकोनमा कुलतमा फसाउनु जस्तै हो । अर्थात एकतर्फ उनीहरु यसको लतमा फसिसकेका छन् र उनीहरुलाई यो नै थाहा छैन की यसबाट बाहिर कसरी निस्किने । यो वास्तवमा गम्भिर बिषय हो, जसको समाधान अपरिहार्य बनिसकेको छ ।
नेटफ्लिक्समा एउटा डकुमेन्ट्री छ ‘दी सोसिअल डिलेमा’ । यदी तपाईंले यो डकुमेन्ट्री हेर्नु भएको छैन् भने एकपटक अवश्य हेर्नु होला । यो डकुमेन्ट्रीमा हामीले फ्रीमा चलाऊने सोसिअल मिडिया साइट जस्तै फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप, ट्विटरहरुको व्यापार मोडेल र अल्गोरिदमको बारेमा संक्षिप्त जानकारी दिएको छ ।
यसमा प्रयोगकर्ता जस्तै तपाईं र हामी नै यी ‘बिग टेक’ अर्थात ठूलो टेक कम्पनीको प्रडक्ट भएका छौ । यी कम्पनीहरुले हामीले सर्च गरेका हरेक कुराहरुलाई सङ्कलन गरेर राख्छन् र एउटा मोडेल तयार गर्छन् ।
प्रत्येक व्यक्तिको मोडेल उनीहरुको सिस्टममा राखेर तिनिहरुको अर्को चाल के हुनसक्छ, त्यो अनुमान लगाउँछन र त्यही प्रकारको विज्ञापन तपाईंलाई देखाउँछन् ।
यहाँ विज्ञापन मात्र होइन, आफ्नो प्लेटफर्ममा तपाईंलाई राखिराख्न अर्को भिडियो सिफारिस गरेर तपाईंको ध्यानलाई नियन्त्रण गर्दछन् र तपाईंलाई धेरै समय बिताएको पत्तै लाग्दैन । र तपाईंको बहुमुल्य समय पनि बर्बाद हुन पुग्छ ।
यस्तो तरिकालाई मनोविज्ञानको क्षेत्रमा ‘र्याबिट होल’ भनिन्छ । यो भनेको एक जटिल विचित्र वा कठिन अवस्था वा स्थितिलाई एउटा प्वालको रूपमा कल्पना गरिनु हो, जसमा कोही झर्छ ।
अझ अहिलेका सामाजिक सञ्जालका कम्पनीहरुले एटेन्सन इन्जिनियरहरु आफ्नो कम्पनीमा राख्न थालेका छन् जसलाई थाहा छ कि कोही व्यक्ति कुन प्रकारले जुवाको लतमा पर्न सक्छन् ।
उनीहरुको काम कसरी तपाईंको ध्यान धेरै समय सम्म आफ्नो प्लेटफर्ममा राख्नु भन्ने हुन्छ । यी इन्जिनियरहरुले बनाएको कोड एआईद्वारा कार्यान्वयन गरिन्छ र एआईको कुनै भावना हुँदैन । केवल लक्ष्य हुन्छ र त्यो लक्ष्य भनेको तपाईंको ध्यानलाई आकर्षित गर्नु हो ।
अहिले इन्टरनेटमा एउटा शब्द देख्न सकिन्छ, ‘नोमोफोबिया’ । अर्थात सेलुलर फोन सम्पर्क बाहिर हुने डर । छोटो समयसम्म पनि यदी कसैको हातमा मोबाईल फोन छैन् भने चिन्तित हुने, डर महसुस गर्ने, एक्लोपन महसुस गर्ने र बोर हुने समस्या देखिन्छ ।
पसिना आउने, झर्किने, रिसाउने जस्ता समस्याहरु पनि आजकालका बच्चाहरुमा देख्न सकिन्छ । हामीले प्रयोग गर्ने मोबाईलहरु दिनप्रतीदिन आकर्षक बन्दै गइरहेका छन् । त्यसले पनि हामी प्राय धेरैले स्मार्टफोन प्रयोग गर्छौं । स्मार्टफोन चलाउनुमा केही गलत छैन् । तर यसको लत लाग्नु नराम्रो बानी हो ।
मोबाईल चलाउँदा यसले केही पलको लागि खुशी त दिन्छ तर भित्री सन्तुष्टी दिदैन । त्यसको सट्टा केही क्षणको मात्रै आनन्द दिन्छ । मोबाईलमा घण्टौंसम्म गेम खेल्नु भन्दा साचिक्कै मैदानमा गएर साथीहरुसँग फुटबल, क्रिकेट खेल्नुमा बेग्लै मज्जा छ । मोबाईलमा जति खेले पनि सन्तुष्ट भइदैन् ।
किनभने त्यो भर्चुअल हो । अवास्तविक कुराहरुले सन्तुष्टि दिन सक्दैनन् । र मानिस यही सन्तुष्टि पाउन मोबाईलमा भौतारी रहन्छ ।
मनमा अझ बढी स्क्रोल गर्न मन लाग्छ, अझै धेरै भिडियोहरु हेर्न मन लाग्छ । कसैले पनि मोबाईल सिधा भएर चलाएको देखिन्न, सबैजना घाँटी झुकाएर नै चलाउँछन् ।
लामो समयसम्म यसरी घाँटी झुकाएर मोबाईल चलाउँदा हाम्रो शरीरमा समस्याहरु आइपुग्छन् । यसले शरीरको मुद्रा त बिगारदिएको छ नै साथै यसको कारण चक्कर आउनु, संतुलन बिग्रिनु, डरको महसुस हुने, घाँटी दुख्ने जस्ता समस्या देखा पर्छन् ।
वास्तविक दुनियाँमा त कमसेकम केही चिजको सीमा त छ तर अनलाइन दुनियाँमा कुनै सीमा छैन् । मोबाईल फोनको लतको कुनै रोक छैन् ।
हामी अहिले भर्चुअल दुनियाँमा बाचिरहेको छौं, जहाँ जेसुकै गरेपनि खालिपन नै महशुस हुन्छ । त्यसैले डिप्रेसन, चिन्ता, तनाव, एक्लोपन जस्ता मानसिक समस्याहरु पनि बढ्दै छन् ।