कीवर्डहरू -

आविष्कार केन्द्रमा आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम, जुमबाट पनि सहभागी हुन सकिने

आविष्कार केन्द्रमा आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम, जुमबाट पनि सहभागी हुन सकिने

राष्ट्रिय आविष्कार केन्द्रमा सोमबार अर्थात आजदेखि जीआईएस र रिमोट सेन्सिङ सम्बन्धि तालिम सुरू हुने भएको छ । ४५ दिनसम्म सञ्चालन हुने तालिम आविष्कार केन्द्रको हाई टेक ल्याबमा हुनेछ ।

आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनका अनुसार तालिम हरेक सोमबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ ।

यो तालिम परिचयात्मक तहको तालिम हो । परिचयात्मक तालिममा सहभागी हुन केन्द्रले यसअघि आवेदन मागेको थियो, जसमा १ हजार ४६९ जनाले गूगल फाराम भरेर आवेदन दिएका थिए ।

प्राप्त आवेदन मध्येबाट केन्द्रले ३० जनाको नाम छनोट गरेको छ । उक्त ३० जना भौतिक रूपमा आविष्कार केन्द्रमा आएर तालिम लिनेछन् । पुनका अनुसार मिटिङ हलको क्षमता ३० जनाको भएकाले ३० जनाको नाम छनोट गरी इमेल पठाइसकिएको छ ।

बाँकीलाई अनलाइनबाटै तालिममा सहभागी हुन सक्ने व्यवस्था लाइएको छ । यदी तपाई पनि अनलाइनबाटै तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

सुरुको तालिम रिमोट सेन्सिङमा केन्द्रित हुनेछ । धेरै जसो पढाई ल्यापटपमा सिकाउनु पर्ने भएकाले अनलाइनमा पढनेहरुले सबै पढाई राम्रोसंग बुझ्न नसक्ने सम्भावना रहेको पुनले बताए ।

तालिम अमेरिकाको अन्तरिक्ष सम्बन्धि अनुसन्धान गर्ने संस्था नासामा कार्यरत राजेश पौड्याल र अमेरिकामै कार्यरत डा. महेश पुनले दिनेछन् ।  उनीहरुले नेपालमा नै बसेर अमेरिकाको काम गर्ने हुनाले आफ्नो फुर्सदको समयलाई सदुपयोग गरेर यो तालिम निःशुल्क दिन लागेका हुन् ।