कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ विद्यार्थीका आईडिया

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ विद्यार्थीका प्रोजेक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा विद्यार्थीले बनाएका आईडियाले आवेदन दिएका थिए ।

प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।

यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट १२ विद्यार्थीका आईडिया यस प्रकार छन् ।

आस्क म्याटरब

आस्क म्याटरब विद्यार्थीहरुका लागि उपयोगी निःशुल्क लर्निङ प्लेटफर्म हो । यसले विद्यार्थीहरुलाई गुणस्तरीय नोट प्रदान गर्छ । नोट प्रदान गर्नु साथै आस्क म्याटरबले देशभरिका विद्यार्थीहरुलाई एकीकृत गर्ने पनि गरेको छ ।

यस प्लेटफर्ममा मेन्टरको सोलुसनमात्रै नभएर विद्यार्थीबाटै पनि समाधान निकाल्ने कोसिस गरिन्छ । यसमा विद्यार्थीलाई आफै समस्या समाधान गर्न प्रोत्साहित गरिन्छ र त्यसलाई कम्युनिटीले विश्लेषण गर्ने गर्दछ ।

आस्क म्याटरबले शिक्षामा रहेको दूरीलाई जोड्ने उद्देश्यसहित काम गरिरहेको छ । यस प्लेटफर्ममा विद्यार्थीहरुले आफ्नो कथा समेत बताउने गर्दछन् । हाल आस्क म्याटरबमा तीस हजार भन्दा बढि पाठक तथा १ हजार ४५० बढि पठन स्रोतहरु रहेका छन् ।

आस्क म्याटरबले आफूलाई अन्तर्क्रियात्मक प्लेटफर्म बनाउनका लागि काम गरिरहेको छ । यसमा २ हजार बढि विद्यार्थीहरु जोडिएका छन् र यसमा १२० बढि क्रियटर र ४० बढि एडमिन रहेका छन् ।

कमर्सियलाइजेसन अफ अटोनोमस इगलआई अनम्याण्ड एरियल भेइकल (यूएभी)

अनम्याण्ड एरियल भेइकल (यूएभी) ले द्रुत निगरानी, थ्रीडी म्यापिङ, थर्मल इमेजिङ, सैन्य सेवा, वातावरणीय अध्ययन, आपतकालीन राहत, र एरियल सीडिङको सम्भावना बढाउने गर्दछ । कम लागत र द्रुत कार्य कार्यान्वयनको साथ यी काम गर्न यसको डिजाइन गरिएको हो ।

यो एक निश्चित क्षेत्र वरिपरि लगभग ६० मिनेट लगातार उड्न सक्छ । यसको डिजाइनकै कारणले यसको लागत करिब रु. ९० हजार मात्रै पर्ने गर्दछ, जुन एउटै एप्लिकेसनको लागि बनाइएको ड्रोनको लागतको तुलनामा लगभग आधा हो । यस प्रडक्टको विशिष्टता भनेको ड्रोनको तुलनामा कम लागत र बढेको उडान समय हो ।

कारोबार

कारोबार नेपाली एमएसएमई, नेपाली डिजिटल खाताको लागि मोबाइल अकाउन्टिङ एप हो । कारोबार एप मार्फत, एमएसएमईहरूले सजिलैसँग आफ्नो व्यापार लेखा र मोबाइलबाट इन्भेन्टरी व्यवस्थापन गर्न सक्छन् ।

कारोबार एउटा नेपाली डिजिटल खाता हो । हाल लगभग ३५ हजार बढि डाउनलोडहरू रहेका छन् र ३० हजार भन्दा बढी व्यवसायहरू करोबार एपमा दर्ता भएका छन् ।

तिनीहरूले मोबाइलबाट आफ्नो व्यापार पसल र सूची व्यवस्थापन गर्न कारोबार एप प्रयोग गर्छन् । साना व्ववसायलाई लक्षित गर्दै कारोबार एपको विकास गरिएको छ । यसबाट बिक्री, खरिद, स्टक र पार्टी क्रेडिटहरू ट्र्याक गर्न प्रयोग गर्न सकिन्छ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो लेखा र स्टकहरू व्यवस्थापन गर्न सहज किसिमको मोबाइल इन्टरफेस प्रदान गर्ने गर्दछ । यो नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ र यसले अफलाइनमा पनि काम गर्छ । नेपालमा पनि सामान्यतया लेनदेन क्रेडिटमा हुन्छ र पसलहरूले परम्परागत कागज खाता प्रयोग गर्छन् ।

यस्तोमा कागज बनाउन धेरै रूखहरू काट्नु पर्छ र तिनीहरूको लेनदेनको विवरण रेकर्ड गर्दा / फेला पार्दा पार्टी खोज्नु फलदायी हुँदैन र यस्तो झन्झटबाट बच्नका लागि पनि करोबारले मद्दत गर्ने गर्दछ ।

कारोबारले प्रयोगकर्ताहरुलाई आफ्नो पसललाई डिजिटलाइज गर्न र डिजिटल नेपाल प्रवर्द्धन गर्न मद्दत गर्छ । यो नेपालका हरेक पसललाई चाहिने मोबाइल समाधान हो ।

मेजर मी

मेजर मी एउटा सेवा हो, जसले बच्चाको वृद्धि विकासलाई सजिलै अनुगमन गर्ने गर्दछ । यसले तपाईंको बच्चाबारे राम्ररी बुझ्न स्मार्टफोन प्रयोग गरेर भिडियो खिचे जत्तिकै सजिलो बनाउँछ ।

यसले शरीर स्क्यान गर्न मोबाइल उपकरणको डेप्थ सेन्सर प्रयोग गर्दछ र मेसिन लर्निङ प्रयोग गरेर मेजर मीले बच्चाको थ्रिडी बडी मोडेलको पुनर्निर्माण गर्दछ, जसले विश्व स्वास्थ्य संगठनको मापदण्ड बाल वृद्धि निगरानी मेट्रिक्स प्रदान गर्न सक्छ ।

यसका साथै, बाल वृद्धि अनुगमनको सम्पूर्ण प्रक्रियालाई राम्रो शुद्धता, गति, विश्वसनीयता, पहुँच र प्रयोगमा सहजताका साथ पूर्ण रूपमा डिजिटलाइज गरिएको छ । बाल वृद्धि अनुगमनको क्षेत्रमा रहेका एउटै खालको लागत संस्थाहरूले ६ गुणा बढी बालबालिकालाई समेट्न सक्छन्, जसले गर्दा यो लागत प्रभावकारी पनि हुन्छ ।

संसारमा कुपोषणका कारण प्रत्येक वर्ष ५.२ मिलियन बालबालिकाको मृत्यु हुने गरेको छ, जसलाई रोकथाम गर्न सकिन्छ ।  मेजर मी अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा पनि पुगिसकेको छ र यसलाई अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा परिमार्जन गरिएको छ ।

यसलाई अझै प्रभावकारी बनाउन विज्ञहरूको सुझाव अनुसार मूल्याङ्कन र सुधार गरिएको छ । बालबालिकामा वर्षोदेखि देखिदै आएको कुपोषणको समस्यालाई हल गर्न मेजमीको विकास गरिएको छ ।

मेरो स्वास्थ्य

नेपालको हरेक स्वास्थ्य क्षेत्रलाई एकीकरण गर्ने लक्ष्यका मेरो स्वास्थ्य तयार पारिएको हो । यसले नेपालको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य क्षेत्रहरूलाई एउटै पोर्टल मार्फत हासिल गर्ने र एकीकृत गर्ने लक्ष्य राखेको छ ।

अब एक क्लिकमै स्वास्थ्यको बारेमा बुझ्न सकिन्छ । यस एपको प्राथमिक अवधारणा अन्य सबैको बीचमा सबैभन्दा सजिलो पहुँचयोग्य प्लेटफर्ममा इम्बेड गर्नु रहेको छ ।

यसको उद्देश्य प्रायः प्रयोग हुने र पहुँच गरिएका स्वास्थ्य सेवाहरू दिनु हो, जसमा रक्तदान अभियान, डाक्टरहरूको परामर्श, अनलाइन लक्षण निदान, चिन्ता र डिप्रेसन परीक्षण गर्ने विभिन्न मापन प्रणालीहरु रहेका छन् ।

यी रोगहरु पत्ता लगाउनका लागि यसमा विभिन्न स्वास्थ्य क्यालकुलेटरहरू रहेका छन् जसमा बिएमआई क्याल्कुलेटर, आईबिडब्लु क्याल्कुलेटर, बच्चा पाउने अनुमानित मिति, महिनावारी चक्र र स्वच्छता ट्रयाकर रहेका छन् ।

यसमा मुटुको दर मापन गर्ने, स्वास्थ्य सुझावहरू र समाचारहरूमा पहुँच, शीर्ष चिकित्सा द्वारा क्युरेट गरिएको के गर्ने र नगर्ने टिप्सहरु रहेका छन् ।

यो व्यावसायिक रुपमा एक अनलाइन ई-फार्मेसी र अन्य धेरै सुविधाहरूको प्रशस्तता भएको प्लेटफर्म हो । मेरो स्वास्थ्य सबैका लागि निःशुल्क सेवा दिने गर्दछ । तर कसैलाई कस्टमाइज र आफु अनुकूल सेवाहरू चाहिए त्यस्ता ग्राहकका लागि भिआईपी योजना ल्याउने तयारी छ ।

मेरो स्वास्थ्यको एआईमा आधारित सेल्फ डायग्नोसिस मोडेलले अस्पताल जाने आवश्यकतालाई झण्डै ४० प्रतिशतले हटाउने बताइएको छ ।

मेरो स्वास्थ्यले सबै प्रयोगकर्ताहरूलाई डिजिटल स्वास्थ्य साक्षरता प्रदान गर्न विश्वव्यापी प्लेटफर्मको रूपमा काम गर्ने उद्देश्य राखेको छ । मेरो स्वास्थ्यले सानातिना समस्याहरू र विशेष गरी दुर्गम क्षेत्रहरूमा यात्रा शुल्कको लागतको लागि महँगो चिकित्सा परामर्श लिने आवश्यकतालाई हटाउने छ ।

नयन

नयन मोबाइल एप हो । पछिल्लो समय बालबालिहरू धेरै समय मोबाइलमा बिताउन थालेका छन्, जसले आँखामा असर गरिरहेको हुन्छ । यसलाई कम गर्न र स्वस्थ मोबाइल प्रयोगको बानी बसाल्न एपले सघाउछ ।

एपले आँखा झिम्काउने दर, स्क्रिन बीचको दूरी र विभिन्न सम्भावित रोगहरूलाई स्क्यान गर्छ । यदि आँखा झिम्काउने दर र स्क्रिन बीचको दूरी धेरै छ भने यसले प्रयोगकर्तालाई चेतावनी दिन्छ ।

यसरी, प्रयोगकर्तालाई खराब-प्रयोग बानी बारे सचेत गराउँछ र आफ्नो आँखालाई सम्भावित क्षतिबाट जोगाउँछ । साथै, यसले बच्चामा आँखाको रोग भएमा जाँच समेत गर्छ । यसले कम्प्युटर दृष्टि प्रयोग गरेर बालबालिकाको आँखाको निरन्तर निगरानी गर्दछ ।

यसले स्क्रिनबाट आँखाको गहिराइ गणना गर्छ र यदि यो स्क्रिनको धेरै नजिक छ भने चेतावनी दिन्छ । यसले बालबालिकाको आँखा झिम्काउने दरलाई अनुगमन गर्छ र यदि तिनीहरू स्वस्थ दरमा झिम्काउँदैनन् भने चेतावनी दिन्छ ।

प्लेटफर्ममा कुनै पनि आँखाको रोग जाँच गर्ने सुविधाहरू पनि छन् । एपमा एआईका लागि टेन्सर फलो, कम्प्युटर भिजनका लागि ओपन सिभी र केआईभिवाईका लागि जियूआई प्रयोग गरिएको छ ।

नेप्टु

नेप्टु (नेपाल टुरिज्म) एक एप हो, जसले स्थानीय उत्पादन, भ्रमण गर्ने ठाउँ र स्थानीयको मद्दतसहित सबै पर्यटक साइटहरू बारे जानकारी प्रदान गर्दछ । पर्यटकले त्यस स्थानमा कुनै पनि साइटहरू नछुटाई ठाउँहरू भ्रमण गर्न सक्छन् ।

यसको वेब/एप मार्फत प्रयोगकर्ताले भ्रमण गर्ने ठाउँ बारे जानकारी पाउँछन् । पर्यटकहरूले नेप्टु प्रयोग गरेर प्रख्यात र कम प्रख्यात स्थानहरूको बारेमा थाहा पाउनेछन्, जसले गर्दा अर्को ‍ गन्तव्य छनोट गर्न सहज हुनेछ ।

नेप्टुले पर्यटकहरूलाई थप अन्वेषण गर्न र सुरक्षित महसुस गर्न मद्दत गर्नेछ । नेप्टु एप मार्फत पर्यटकहरूले नेपालभर घुम्न सक्छन् र उनीहरू गएको ठाउँबाट स्थानीय गाइडहरूले पर्यटकहरूलाई मद्दत गर्नेछन । यसकारण पर्यटकहरू ‍नेपालमा लामो समयसम्म बस्नेछन् र अधिक खर्च गर्नेछन् ।

यसले गर्दा विदेशी स्रोतहरूबाट आम्दानी बढ्ने विश्वास गरिएको छ । एपमा स्थानीय उत्पादन, परम्परा र संस्कृतिका बारेमा जानकारी पनि राखिएको छ ।

पर्यटकहरूको सुरक्षाको लागि स्थानीय अधिकारीहरूसँगको सहकार्य पनि गरिने नेप्टुको भनाइ छ । एपबाट पर्यटकहरूलाई कुन सेवाहरू बढी प्रख्यात छन् भनेर जान्न सकिन्छ ।

पाइथन भ्वाइस असिस्टेन्ट

पाइथन भ्वाइस असिस्टेन्टको प्रोजेक्टको वास्तविक नाम जार्भिस हो । जार्भिस पाइथन प्रयोग गरेर बनाइएको भ्वाइस एसिस्टेन्ट हो । जार्भिसले इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर पुनः सुरु/शटडाउन गर्ने, मौसम जाँच गर्ने जस्ता थुप्रै कामहरु गर्न सक्छ ।

यसले भ्वाइस एसिस्टेन्टमा दोहोर्याइएको कार्य स्वचालित गर्ने गर्दछ, जसले समय तथा स्रोतहरू बचाउन सहयोग गर्दछ । यसलाई आवाज द्वारा नियन्त्रण गर्न सकिन्छ । यसले शहरको मौसम जाँच गर्न सक्छ । यसले गीत बजाउने तथा गुगल र युट्युब सर्च पनि गर्न सक्छ ।

त्योसँगै यसले इमेल पठाउने तथा कुनै वेबसाइट खोल्ने जस्ता काम पनि गर्न सक्छ । धेरै उद्योगहरूमा भएका प्रगतिहरूले डिजिटल भ्वाइस सहायकहरूलाई थप परिष्कृत र दैनिक प्रयोगको लागि उपयोगी बन्न मद्दत गरिरहेको छ ।

साराङ्ग

साराङ्ग विद्यार्थीले नेतृत्व गरेको स्टार्टअप हो, जसले नेपालको सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न मद्दत गर्दछ । यसले ट्राभल टेक उद्योगमा प्रडक्टहरुको विकास गर्ने र सम्पदाहरूको सूचना प्रवाह प्रणालीलाई डिजिटलाइज गर्न काम गरिरहेको छ ।

कम्पनीका अनुसार यसले क्युआर संलग्न बोर्डहरू निर्माण गर्नेछ, जसलाई सम्पदा स्थलहरूमा राखिनेछ । यी क्युआर कोडहरूलाई स्क्यान गरेपछि यसले प्रयोगकर्तालाई विश्वका सबै प्रमुख भाषाहरूमा सम्पदाको बारेमा बताउँनेछ र सम्पदा वरिपरिको भ्रमण गराउनेछ ।

साराङ्गले नेपालभर १०० वटा बोर्ड राखेको छ, जसमा क्युआर कोड छन् । साराङ्गका केही उल्लेखनीय स्थानहरू लुम्बिनी, जनकपुर नगर, ठमेल, बुढानिलकण्ठ, दक्षिणकाली आदि हुन् ।

यसले सयौँ सम्पदाहरूको डिजिटल फुटप्रिन्ट सिर्जना गरेको छ । ठमेलजस्ता पर्यटकीयस्थलको थालनी गर्ने आधार बनेको भगवान बहलजस्ता बिर्सिएका र किनारा लगाइएका ठाउँलाई साराङ्गले प्रवर्द्धन गर्ने छ । यसले नेपालमा घुम्न जाने ठाउँहरूको बारेमा जान्न चाहने पर्यटकहरूकालाई सबै जानकारी उपलब्ध गराएको छ ।

यसले नेपालको सम्पदा र संस्कृतिको संरक्षण गर्दछ । त्यस्तै यसले पर्यटन गतिविधिहरूलाई पनि बढावा दिन्छ । यसले पर्यटनमा आधारित स्थानीय अर्थतन्त्रलाई जीवन्त बनाउँन मद्दत गर्ने बताइएको छ ।

साराङ्गले अमेजन क्लाउड सेवा र आर्टिफिसियल इन्टेलिजेन्स उपकरण पनि प्रयोग गरेको छ, जसले गर्दा यसले स्थलहरुको जानकारी विश्वका सबै प्रमुख भाषाहरूमा पहुँचयोग्य बनाउन सक्छ ।

सोल-बिन

सोल-बिन फोहोर व्यवस्थापनको लागि एक प्लेटफर्म हो । सोल-बिन आईओटी र ब्लकचेन प्लेटफर्म हो, जहाँ हटस्पट क्षेत्रमा विभिन्न प्रकारका डस्टबिन राखिएको छ ।

उदाहरणका लागिः कागजको फोहोर सबैभन्दा बढी भएको विश्वविद्यालय क्षेत्रमा मात्र कागज स्वीकार गर्ने डस्टबिन राख्न सकिन्छ, बोतलहरू लिने डस्टबिन क्याफेटेरिया र बारहरूमा र अरु विभिन्न स्थानहरूमा राख्न सकिन्छ ।

जुन डस्टबिन जुन कुराको लागि निश्चित गरिएको हुन्छ त्यसमा त्यही कुरा फालेपछि त्यसलाई लोड सेन्सिङ मेकानिजम मार्फत फोहोरको मौद्रिक मूल्य फेला पार्न सकिन्छ ।

सोलाना मार्फत रिडिम गर्न सकिन्छ र फोहोर सङ्कलन डस्टबिन भरिएको वा नभरिएको सोलबिनको ड्यासबोर्डबाट हेर्न सकिन्छ । यस प्रणालीले काम गर्नका लागि एउटा डस्टबिनले मात्रै केही पनि गर्न सक्दैन त्यसैले पूरै शहरमा डस्टबिनको चेन राख्नुपर्ने हुन्छ ।

यो डस्टबिनलाई ईएसपी ८२६६ ले पावर गरिएको छ । माइक्रोकन्ट्रोलरद्वारा संचालित वेट सेन्सर र अल्ट्रासोनिक सेन्सरको प्रयोगले जताततै राखिएको डस्टबिनलाई ट्याक गर्न सकिन्छ । मानिसहरूलाई डस्टबिनसँग अन्तरक्रिया गर्नका लागि नेक्स्ट डट जेएस मा निर्मित वेब एप रहेको छ ।

यो प्लेटफर्म रिसाइक्लिंग कम्पनीहरूको लागि हो, जसले क्रमबद्ध प्रक्रियामा मूल्य कटौती गर्न, रिसाइक्लिंग र फोहोर व्यवस्थापनमा समस्या भएका शहरहरूका लागि पनि सहयोग मिल्छ ।

स्पष्ट नेपाली

यो सफ्टवेयर नेपाली भाषामा आधारित एआई हो । यसले व्याकरणको गलत प्रयोग बारे पत्ता लगाउन र सच्याउन मद्दत गर्दछ । स्पष्ट नेपाली नेपाली भाषा प्रवर्द्धन गर्ने प्लेटफर्म हो ।

यो सजिलैसंग कुनै पनि एप र सफ्टवेयरसँग मर्ज गर्न सकिन्छ र सजिलै प्रयोग गर्न सकिन्छ । यसले प्रामाणिक नेपाली लेख्न र सही व्याकरणलाई सजिलो तरिकाले लेख्न मद्दत गर्छ ।

यो एप अरूलाई नेपाली भाषा सिक्न र सिकाउन उपयोगी छ । यसले भाषालाई प्रमाणित गर्न र आधिकारिक कागजातहरू तयार गर्न मद्दत गर्दछ ।

यो एप पनि नेपाली भाषाको थप परिमार्जन, विकास र अनुसन्धान गर्ने उद्देश्यले बनाइएको हो । यसले युवा नेपाली पुस्तामा लोपोन्मुख हुँदै गएको नेपाली भाषाको संरक्षणमा पनि मद्दत गर्नेछ ।

टी स्क्यान

टी स्क्यान नेपालमा बनेको भेन्डिङ मेसिन हो, जसले कसैको सहयोग बिनानै चिया बनाउन र बेच्न सक्छ । मेसिनको माथिल्लो भागमा क्युआर कोड हुने गर्दछ जुन ग्राहकहरूले आफ्नो ईसेवा वालेट र मोबाइल बैंकिङ एपबाट स्क्यान गर्न सक्छन् ।

भुक्तानी सफलपछि, चिया मेसिनको शीर्षमा रहेको नोजलबाट कप नभरिएसम्म खस्छ । चियाको कप भरेपछि ग्राहकले चिया पिउन सक्नेछन् । टी स्क्यानसँग कस्टम मूल्यहरू र टिप्पणीसहितको आफ्नै खालको क्युआर कोड प्रणाली रहेको छ, जसले गर्दा ग्राहकले सजिलैसँग रकम प्रविष्ट नगरी एक क्लिकमा भुक्तानी गर्न सक्छन् ।

टी स्क्यान भएको संस्थाले सजिलैसँग फोन पे बिजनेश एपबाट डाटा हेर्न र विश्लेषण गर्न सक्छन् । काठमाडौंमा बस्दा धेरै विद्यार्थी र व्यक्तिहरूलाई थर्मसमा चिया हालेर, बजार, बसपार्क, एयरपोर्टलगायतका सरकारी र गैर सरकारी संस्थाहरूको अगाडि बेचिरहेका हुन्छन् । यस समस्याका लागि टी स्क्यानले ठूलो भूमिका खेल्न सक्छ ।

यो मेसिन खरिद गरेर कुनै पनि साधारण व्यक्तिले कम्तीमा पनि रु. ३६ हजार प्रति महिना (टी स्कयानको २ ट्यांक, प्रति दिन) को मूल्यमा कमाउन सक्ने बताइएको छ । यो पोर्टेबल र सञ्चालन गर्न पनि सजिलो रहेको छ । टी स्कयान नेपालको पहिलो क्युआर भेन्डिङ मेसिन हो, जसले ३ सेकेन्डमा चिया पाउन मद्दत गर्छ ।