नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रो १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ । हाम्रो पात्रो सन् २००९ मा पहिलो पटक आईओएसमा सार्वजनिक भएको थियो ।
सन् २००८ मा अध्ययनका लागि अमेरिका पुगेका उप्रेतीले अरुले जस्तै नेपालबाट साथमा भित्ते पात्रो बोकेर गएका थिए । तिथि मिति हेर्नुपरे त्यही भित्तेपात्रो नियाल्ने र वेबसाइट चहार्नुको विकल्प थिएन ।
त्यसैले सुरुमा आफ्नो व्यक्तिगत आवश्यकता पूर्ति गर्नकै लागि उनले ‘हाम्रो पात्रो’ एप बनाए । कुनै विशेष योजनाका साथ उक्त एप बनाइएको भने थिएन ।
एप तयार भएको एक वर्षपछि अर्थात सन् २००९ तिर मात्रै हाम्रो पात्रो एप एप्पलको आईओएस एप स्टोरमा राखिएको थियो । आईओएसमा हाम्रो पात्रोको डाउनलोड पाँच लाखभन्दा बढी रहेको छ ।
पात्रो हेर्ने, मिति परिवर्तन (बि.सं.बाट इ.सं.मा र इस्वी संवतबाट बि.संमा ) फिचरसँगै सन् २००८ मा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्लेस्टोरमा राखिएको थियो ।
गुगल प्ले स्टोरमा रिलिज भएको एक वर्षमै यो एपको डाउनलोड एक लाखभन्दा बढी पुगेको थियो । सन् २०१५ नहुँदै एपको डाउनलोड संख्याले दश लाखको आँकडा पार गरेको थियो ।
अहिले हाम्रो पात्रो एप नेपाली माझ चर्चित छ । एपका प्रयोगकर्ता मध्ये ९३ प्रतिशत प्रयोगकर्ता एन्ड्रोइडमा छन् भने सात प्रतिशत आईओएसमा छन् ।
हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल, म्यासेन्जर, हेल्थ, गेम्स, रेसिपी, क्विज, रिमाइन्डर, मार्केट, ई-लर्निङ लगायत एक दर्जन फिचर समावेश छन् ।
विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, आदि जस्ता दैनिक आवश्यकताका फिचरका कारण एपमा सक्रिय प्रयोगकर्ताको संख्या पनि उल्लेख्य छ ।
दैनिक १३ लाख बढी सक्रिय प्रयोगकर्ता रहेको एपमा मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ लाखमाथि रहेको छ । हाम्रो पात्रोमा देशका प्रमुख ८० भन्दा बढी अनलाइन न्युजपोर्टल र चार सयभन्दा बढी रेडियो समेत जोडिएका छन् । नेपाली, अंग्रेजी सहित एप सात वटा फरक भाषामा प्रयोग गर्न सकिन्छ ।
नेपालमा सस्ता मोबाइलका प्रयोगकर्ता धेरै हुने भएकाले उनीहरुलाई र्याम र स्टोरेज फुल हुने समस्या आइरहन्छ । यस्तोमा फोटो, भिडियो वा एप मध्ये कुनै न कुनै सामग्री डिलिट गर्नुपर्ने बाध्यता बन्न पुग्छ ।
यस किसिमको समस्यालाई सम्बोधन गर्न हाम्रोपात्रोले एउटै एपमा धेरै फिचरहरु समावेश गर्दै लगेको हो । त्यसैले त अहिले एउटै एपमा सबैभन्दा धेरै फिचर भएको नेपाली एपमा पनि हाम्रो पात्रो नै पहिलो नम्बरमा आउँछ ।
फिचर धेरै भए पनि एपको साइज ठूलो हुन नदिन एपका डेभलपर र इन्जिनियरहरुले लगातार रुपमा मेहनत गरिरहेका छन् ।
अहिले हाम्रो पात्रोको साइज डिभाइस अनुसार एपको साइज पनि सानो नै छ । हाल हाम्रो पात्रोमा ३५ जनाको टिम कार्यरत रहेको छ ।