कीवर्डहरू -

किशोरीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्दै वर्ल्डलिङ्‍क

किशोरीहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्दै वर्ल्डलिङ्‍क

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सरसफाई, यौन तथा प्रजनन् स्वास्थ्य, हिंसा तथा लैङ्गिक हिंसा, बाल विवाह रोकथाम, मानसिक स्वास्थ्य र आत्मरक्षा जस्ता विषय कार्यक्रममा समेटिएको थियो ।

वर्ल्डलिङ्कले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वलाई दिगो विकासका चार वटा लक्ष्यमा केन्द्रित गर्न थालेको छ । जसमध्ये लैङ्गिक समानता एउटा हो । निर्धारित दिगो विकास लक्ष्यभित्र रहेर परियोजना तय गर्ने क्रममा वर्ल्डलिङ्कले जनसेवा माध्यामिक विद्यालयबाट सुझाव मागेको थियो । जसमा विद्यालयले व्यवसायिक सामाजिक उत्तरदायित्वको कार्यक्रममा माथिल्ला कक्षामा अध्ययनरत आफ्ना छात्राहरूको सशक्तिकरण समावेश गर्न आग्रह गरेको  थियो ।

आवश्यकता मूल्याङ्कनका क्रममा वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले उक्त क्षेत्रमा बाल विवाहको मुख्य समस्या रहेको पहिचान गरेको थियो । त्यसका साथै घर आँगनको स्वच्छतामा समेत मुख्य भूमिका रहने भएकाले छात्राहरूमा सरसफाईको अभ्यासमा समेत सुधार ल्याउनुपर्ने वर्ल्डलिङ्कको टिमले महसुस गर्‍यो । टोलिले उनीहरूमा हुने तनाव र मानसिक उतारचढावलाई समेत मध्यनजर गर्दै मानसिक स्वास्थ्यमा समेत विचार पुर्‍याउनु पर्ने आवश्यकता पहिचान गरेको थियो ।

अधिकांश किशोरी तथा महिलाहरू शिक्षा र जनचेतनाबाट बञ्चित हुने भएकाले उनीहरूले मानसिक स्वास्थ्यको अवधारणा समेत बुझ्न सकेका हुँदैनन् । यतिसम्म कि आफ्नो मानसिक स्वास्थ्य समस्याको विषयमा उनीहरू जानकार रहेपनि त्यस विषयमा अन्य व्यक्तिहरूसँग खुलेर कुरा गर्न र सहयोग माग्न सक्दैनन्

धेरैजसो किशोरीहरू घरेलु हिंसालाई सामान्य दैनिक गतिविधि ठान्ने भएकाले त्यस विरुद्ध कदम चाल्दैनन् । यिनै विषयहरूलाई मध्यनजर गर्दै वर्ल्डलिङ्कको व्यवसायिक सामाजिक उत्तरदायित्वको टिमले 'शिक्षा तथा जनचेतनामार्फत महिलाको सशक्तीकरण' कार्यक्रमको डिजाइन गरेको जनाएको छ ।

यसले छात्राहरूमा जनचेतना अभिवृद्धि हुनुका साथै सशक्तीकरणमा शिक्षा पहिलो पाइला भएको महसुस गराउनेछ ।