कीवर्डहरू -

स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने

स्वतन्त्र पार्टीको घोषणाः क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिप्टोकरेन्सी माइनिङलाई वैधानिकता दिने भएको छ । बिहीबार बाचा पत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सरकार बने देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने बताएको हो ।

बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधन (एप, वेब) हरूको डाटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधानसहितको कानुन बनाइने बाचापत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै डिजिटल पोर्टलद्वारा घरजग्गा किनबेच, डिजिटल नक्सा तयार, उच्च गतिको इन्टरनेट पहुँच, एक्सेस पोइन्ट, नेपालमा होस्ट हुने सुरक्षित डाटा सेन्टर, नेपालको आफ्नै स्याटेलाइट संरचना निर्माण गरिने छ ।

अनेकौं कागजात बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न जन्मदेखि मृत्युसम्मका सबै सरकारी तथा निजी सेवाहरू प्रदान गर्न कागजरहित एकीकृत राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

यसका साथै इन्टरअपरेबल डिजिटल भुक्तानी प्रणालीको स्थापना र सञ्चालन गरिने, अपराध र अपराधी पहिचान गर्ने आधुनिक डिजिटल संयन्त्र र प्रणालीको स्थापना गर्ने, दुईवर्षभित्र १ हजारमाथिको सबै सरकारी सेवाको भुक्तानी अनिवार्य अनलाइनबाटै हुने व्यवस्था गर्ने बताइएको छ ।