कीवर्डहरू -

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित

क्यान महासंघका निवर्तमान अध्यक्ष विट्साको कोषाध्यक्षमा निर्वाचित

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (विट्सा) को सन् २०२२ -२४  कार्यकालका लागि कोषाध्यक्षमा पुनः निर्वाचित भएका छन् ।

भदौं अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया कार्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यसअघि उनी सन् २०१८ - २० कार्यकालको लागि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थियो भने सन् २०२०-२२ कार्यकालमा कोषाध्यक्ष रहेका थिए ।

चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।

द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशबाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका हुन् ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा,  विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।

चौरासिया कोषाध्यक्ष पदमा निर्वाचित भएकोमा क्यान महासंघले सफल कार्यकालको कामना गरेको छ ।