महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा इन्टरनेटजन्य अपराधका घटना लिएर आउनेको संख्या बढिरहेको छ । यसमध्ये बालबालिका र किशोर उमेर समूहका पीडितका उजुरी बढी आउने गरेका छन् ।
सामाजिक सञ्जालमा फेक आईडी बनाउने, चरित्र हत्या गर्ने, यौनजन्य सामग्री पठाउने, डरधम्की दिने जस्ता कार्य धेरै भएको छ । परिपक्व उमेर नहुँदै इन्टरनेट, इलेक्ट्रोनिक ग्याजेट र पछिल्ला प्रविधिहरूमा बच्चाहरूलाई सहजै पहुँच दिँदा र प्रयोगसम्बन्धी सही जानकारी नहुँदा समस्या आएको हो । यस्तो प्रवृत्तिले बच्चाहरूको सृजनशीलतालाई मार्ने काम गर्छ ।
प्रहरी कार्यालयमा पर्ने अधिकांश उजुरीमा पीडक र पीडित आपसी चिनेजानेको र घटनालाई नलम्ब्याउन सहमत भएको देखिन्छ । मुद्दामार्फत कारबाही भएका घटना निकै कम छन् । कानूनी प्रक्रियामा नगई मिलापत्र गर्ने प्रवृत्तिले पुनः अपराध दोहोरिएका पनि छन् ।