कीवर्डहरू -

नेपाली पात्रोमा नयाँ सुविधा

नेपाली पात्रोमा नयाँ सुविधा

नेपाली पात्रोले ‘अद्भूत रेडियो - रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आईओएस र एन्ड्रोइड दुबै एपमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने कामसँगै रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको जनाएको छ ।

रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा उक्त रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सकिने छ ।

यसका साथै समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा सेयर गर्न सकिने छ भने सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएम/रेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिने बताइएको छ ।

यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सजिलो हुनेछ ।

प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्ने छन् ।

साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लग-इन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्ने कम्पनीको भनाइ छ । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।

नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएको हाम्रो पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ ।

यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रीसहितको सुविधा ‘IME Football 2022’ पनि समावेश गरेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।

नेपाली पात्रो नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो ।

‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै वेबसाइट, आईफोन तथा एन्ड्रोइडमा विश्वको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ ।

नेपाली पत्रो प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सकिन्छ ।