विश्वको लोकप्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले नेपाली स्टार्टअपहरुको लागि माइक्रोफ्ट फाउण्डर्स हबको सुरू गर्ने भएको छ ।
शुक्रबार इस्लिङ्टन कलेजको कुमारी हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै आइसिटी अवार्डसँगको सहकार्यमा नेपालको लागि फाउण्डर्स हब सार्वजनिक गर्ने भएको हो ।
उक्त कार्यक्रममा माइक्रोसफ्टको तर्फबाट विभिन्न सेसनहरु सञ्चालन हुनेछन भने इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धीले स्टोरी सेयरिङ गर्ने अवसर प्राप्त गर्नेछन ।
माइक्रोसफ्टको फाउण्डर्स हब स्टार्टअपहरुको लागि एउटा नयाँ प्लाटफर्म हो, जसले कम्पनी विकास गर्दा आइपर्ने समस्याहरु समाधान गर्दै विभिन्न किसिमले सहयोग पुर्याउनेछ ।
यस प्लाटफर्मले स्टार्टअपहरुको लागि आवश्यक प्रविधि र स्रोतहरुमा निःशुल्क पहुच प्रदान गर्दछ । यसले स्टार्टअपहरुले आफ्नो यात्रामा कहाँ र कस्तो अवस्थामा छन, त्यसको पहिचान गरी आवश्यक सहयोग र मार्गदर्शन गर्नेछ ।
प्रारम्भिक स्टार्टअपहरुको लागि विशेष रुपमा डिजाइन गरिएको यस प्लाटफर्मले नयाँ आइडिया र विचारहरुलाई डिजिटल इकोसिस्टममा समेट्ने प्रयास गर्दछ ।
माइक्रोसफ्टको स्टार्टअप फाउण्डर्स हब धेरै देशमा सफलतापूर्वक चलिरहेको कार्यक्रम हो । नेपालमा पनि स्टार्टअपको इकोसिस्टमको विकासमा सहयोग पुर्याउने उदेश्यले आइसिटी अवार्डसँगको सहकार्यमा यसको सुरुवात गरिएको आयोजकले जानकारी दिएको छ ।
विशेषगरी आर्थिक, प्राविधिक र पुर्वाधारको अभावमा नेपालको स्टार्टअपहरुको वृद्धि कम भइरहेको हुँदा, यसलाई सहयोग गर्ने लक्ष्यसहित माइक्रोसफ्टले फाउण्डर्स हबको सुरुवात गरेको नेपालको लागि माइक्रोसफ्टका सेल्स एक्जिक्युटिभ सुवास मानन्धरले बताए ।
शुक्रवार आयोजना हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तरािष्ट्रय प्रतिनिधिहरुको उपस्थिती हुनेछ । यसैगरी माइक्रोसफ्टको तर्फबाट सफल केहि स्टार्टअपहरुले पनि आफ्नो सफलताको कथा प्रस्तुत गर्नेछन ।
कार्यक्रममा माइक्रोसफ्टका विभिन्न नयाँ प्रविधिहरुको बारेमा सेसन पनि सञ्चालन हुनेछन् भने आइसिटी अवार्डका विजेता र यस वर्षका उत्कृष्ट ५ ले आफ्नो स्टार्टअपको बारेमा रोचक प्रस्तुती दिनेछन ।
इच्छुकले कार्यक्रममा निशुल्क सहभागी हुन सकिन्छ तर यहाँ क्लिक गरी अनिवार्य रजिस्ट्रेशन फारम भर्नुपर्ने छ ।