कीवर्डहरू -

कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा 

कार र बाईकको सबै जानकारी दिने वानकार्ज डटकम, अनलाइन बुकिङदेखि बीमा खरिदसम्मको सुविधा 

अहिले नेपालमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी लिन शोरूमसम्मै पुग्नुपर्ने बाध्यता छ ।

अनलाइनमा त्यति धेरै जानकारीहरू छैनन् । उपलब्ध भएपनि एकैठाउँमा छैनन् । विभिन्न माध्यममा खोज्नुपर्ने झन्झट छ ।

यही झन्झटलाई अन्त्य गर्न आएको छ, वानकार्ज डटकम । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी एउटै माध्यमबाट दिने उद्देश्यले वानकार्ज डटकम करिब २ महिना अगाडि सार्वजनिक भएको हो ।

स्कुटर, मोटरसाइकल र कारको सबै जानकारी लिन शोरूमसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न वानकार्ज सुरू गरिएको संस्थापक सुवास सापकोटाले बताए ।

‘अहिले नेपालमा गाडी लिनुपर्‍यो वा मोटरसाइकल लिनुपर्‍यो भने उ शोरूममै पुग्नु पर्छ । अनलाइनमा खासै जानकारीहरू छैनन्,’ सापकोटाले आइसिटी समाचारसँग भने, ‘यो समस्यालाई अन्त्य गर्न एउटै माध्यमबाट दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको सबै जानकारी दिन वानकार्ज सुरू गरेका हौं ।’

\"\"

वानकार्ज टिमसँग संस्थापक सापकोटा


वानकार्ज एक किसिमले भर्चुअल शोरूम जस्तै हो । गाडी तथा बाइक शोरूममा पाइने सबै सुविधा वानकार्जबाटै प्रदान गर्ने गरी कम्पनी अगाडि बढेको छ ।

अटो कम्पनीले वानकार्जमा आफ्नो सवारीसाधन लिष्ट गर्न सक्ने छन् । १ वर्षको मेहनतपछि करिब ५० लाखको लगानीमा वानकार्ज तयार भएको हो । सार्वजनिक भएको २ महिनामै वानकार्ज डटकममा दैनिक २ हजार बढी ट्राफिक आइरहेको छ ।

वानकार्जभित्र सवारीसाधनको भिडियो, फोटो, कलर अप्सन, टेक्स्ट, कम्पेयर लगायतको सुविधा छ । वानकार्जमा अहिले ७ जनाले रोजगारी पाएका छन् ।

सवारीसाधन किन्ने र बिक्री गर्ने कामलाई सहज वानकार्ज ल्याएको सापकोटाको भनाइ छ । ‘अमेरिका, अष्ट्रेलियामा १० मिनेटमै गाडी किन्न सकिन्छ तर नेपालमा भने धेरै समय खर्च गर्नुपर्छ,’ उनी भन्छन्, ‘नेपालमा पनि सवारीसाधन किन्ने र बेच्ने कामलाई सहज बनाउन वानकार्ज ल्याएका हौं ।’

सवारीसाधनको तुलना

वानकार्जमा धेरै सुविधा छन् । त्यसमध्ये एउटा सुविधा हो, तुलना । अहिले नेपालमा दुई पांग्रे र चार पाङ्ग्रे सवारीसाधनको पूर्ण रूपमा तुलना गर्न सकिने कुनै माध्यम छैन् ।

ग्राहकहरूको सहजताका लागि अनलाइनमै सवारीसाधनको तुलना गर्न सकिने फिचर ल्याएको सापकोटाले बताए ।
वानकार्जमा गएर एउटा सवारीसाधन कुनै अर्को सवारीसाधनसँग सजिलै तुलना गर्न सकिन्छ ।

एकै पटकमा ३ वटासम्म सवारीसाधन तुलना गर्न सकिन्छ । यसले प्रत्येक ब्राण्डका सवारीसाधनको फिचर बुझ्न अनेकौं पटक शोरूम धाइरहनुपर्ने समस्या अन्त्य गर्ने कम्पनीको विश्वास छ ।

अनलाइन बुकिङदेखि डकुमेन्टेसनको सेवासम्म

वानकार्जमार्फत अनलाइनबाटै गाडी बुकिङ र टेष्ट ड्राइभका लागि अनुरोध गर्न सकिन्छ । अनलाइनबाटै ‘टोकन मनि’ दिएर सवारीसाधन समेत बुकिङ गर्न सकिने गरी तयारी गरिरहेको उनले जानकारी दिए ।

\"\"

त्यस्तै वानकार्जबाट टेस्ट ड्राइभका लागि फाराम भरेर अनुरोध गरेपछि त्यो जानकारी सम्बन्धित ब्राण्डलाई जानेछ । त्यसपछि उसले कल गरेर तपाईलाई टेष्टड्राइभको समय मिलाउने छ ।

सापकोटाका अनुसार वानकार्जले डुकुमेन्टेसनको सुविधा समेत ल्याउँदै छ । वानकार्जबाट कसैले किस्तामा गाडी किन्न चाहेमा त्यसका लागि आवश्यक पर्ने डुकुमेन्ट सुविधा पनि प्रदान गर्ने योजना बनाएको छ । डकुमेन्टेसनका लागि वानकार्जले थोरै शुल्क लिनेछ ।

यसका लागि कुनै एउटा फाइनान्सियल कम्पनीसँग सहकार्य गर्ने उनी बताउँछन् । ‘डुकुमेन्टेसनका लागि हामी फाइनान्सियल पार्टनर राख्छौं । ऋणका लागि आवश्यक पर्ने सबै डकुमेन्ट त्यसले ह्यान्डिल गर्छ,’ उनी सुनाउँछन् ।

तर यो सेवा अनिवार्य भने छैन् । ग्राहकले ऋणका लागि वानकार्जमा बैंक छनोट गरेर कागजातको काम आफै पनि गर्न सक्छन् ।

इन्स्योरेन्सको सुविधा

सवारीसाधनको रिस्क कभर गर्न बीमा अन्त्यन्तै महत्वपूर्ण हुन्छ । सवारीसाधनको बीमाका लागि थुप्रै निर्जीवन बीमा कम्पनी बजारमा उपलब्ध छन् । कम्पनीले वानकार्जबाटै बीमा खरिद र तुलनाको सुविधा पनि ल्याउँदै छ ।

‘बीमाका लागि नेपालका सबै निर्जीवन बीमा कम्पनीलाई आवद्ध गर्ने योजना छ,’ सुवास भन्छन्, ‘यसले बीमा खरिद गर्न बीमा कम्पनीसम्म गइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्नेछ भने सबै कम्पनीको बीमा एकै ठाउँबाट तुलना समेत गर्न सकिनेछ ।’

केही समयपछि वानकार्जबाटै आफ्नो सवारीसाधनका लागि बीमा पोलिसी खरिद गर्न सकिने छ । त्यस्तै आफुलाई कुन बीमा सस्तो र राम्रो हुन्छ भनेर तुलना समेत गर्न सकिने जनाइएको छ ।

सेकेण्डह्याण्ड सवारीसाधनको खरिद बिक्री

वानकार्जमा नयाँ सवारीसाधनको जानकारी लिने र किन्ने मात्रै होइन् । पुराना सवारीसाधन पनि खरिद बिक्री गर्न सकिन्छ । यसका लागि वानकार्जले कुनै शुल्क लिने छैन् ।

\"\"

‘हामीले प्लेटफर्म बनाइदिएका हौं । सेकेण्डह्याण्ड सवारीसाधन किन्ने र बेच्ने मानिसले सिधैं कुरा गर्न सक्नुहुन्छ । हामी कुनै कमिसन लिदैनौं,’ सुवासले भने

अन्य सुविधा र आगामी योजना

वानकार्जले भविष्यमा सवारीसाधनसँग सम्बन्धित जानकारीमूलक गुणस्तरीय भिडियोहरू बनाउने योजना राखेको छ । सवारीसाधनको पूर्ण जानकारी र तुलनासहितको भिडियो बनाउने योजना सापकोटाले सुनाए ।

वानकार्जको मोबाइल एप पनि आउँदै छ । आईओएस र एन्ड्रोइड प्रयोगकर्ताले अबको केही दिनमै मोबाइल एप प्रयोग गर्न सक्ने छन् ।

प्रयोगमैंत्री हुने गरी मोबाइल एपको डिजाइन गरिएको छ । वानकार्जलाई भविष्यमा अटोमोबाइल बजारको वानस्टप पोर्टल बनाउने योजनासहित काम भइरहेको सापकोटाले बताए ।