कीवर्डहरू -

ह्वावे कनेक्ट २०२२ सम्पन्न, डिजिटल इकोसिस्टम विकासमा जोड

ह्वावे कनेक्ट २०२२ सम्पन्न, डिजिटल इकोसिस्टम विकासमा जोड

ह्वावे नेपालले मंगलबार ह्वावे कनेक्ट २०२२ आयोजना गरेको छ । आफ्नो वार्षिक औद्योगिक कार्यक्रम ह्वावे कनेक्ट २०२२ गत मंगलबार काठमाडौंको म्यारियट होटलमा सम्पन्न भएको हो ।

ह्वावे कनेक्ट नेपालमा आयोजना भएको यो तेस्रो पटक हो । ‘अनलीश डिजिटल’ विषयवस्तुमा आयोजना भएको कार्यक्रममा डिजिटल प्रविधिको महत्व बारे छलफल गरिएको थियो ।

कार्यक्रममा देशभरका ४०० भन्दा बढी आइसिटी उद्योगका लिडर, विज्ञ र साझेदारहरूको उपस्थिति रहेको थियो ।  कार्यक्रममा ह्वावेले विभिन्न उद्योगहरूमा डिजिटल विकासलाई अगाडि बढाउन चालेका कदमहरू सेयर गरेको थियो ।

ह्वावे एशिया प्यासिफिक इन्टरप्राइज बिजनेस ग्रुपका अध्यक्ष निकोलस माले क्षेत्रीय डिजिटल रूपान्तरण प्रगतिको अन्तरदृष्टि सेयर गर्दै ह्वावे र इको-पार्टनरहरूले डिजिटल अर्थतन्त्रमा नेपालको डिजिटल पूर्वाधार, औद्योगिक एप्लिकेसन र डिजिटल प्रतिभा ‍विकासमा सहयोग गर्ने बताए ।

त्यस्तै सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले निजी क्षेत्रको व्यापक सहभागिताबाट सामाजिक र आर्थिक विकासका लागि ग्रामीण तहसम्म सूचना र सञ्चार क्षेत्रको विकास र विस्तार  गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सुरु गरेर नेपाललाई डिजिटल अर्थतन्त्रमा रुपान्तरण गर्नुको महत्वलाई जोड दिएको जानकारी गराए ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक तथा डिसहोमका अध्यक्ष हेमराज ढकालले डिजिटल रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेकोमा ह्वावेको प्रशंसा गरे ।

यस्तै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलियम चाङले दक्षिण एसियाको सबैभन्दा ठूलो डिजिटल अर्थतन्त्र भएको देशका रूपमा नेपालसँग राष्ट्रिय डिजिटल रूपान्तरणमा ठूलो सम्भावना रहेको बताए ।

‘डिजिटलमा जानु सही विकल्प हो । हामी नेपालको डिजिटलाइजेसन र दिगो विकास प्रयासहरूलाई समर्थन गरिरहनेछौं । उद्योग इकोसिस्टमको निर्माण र क्षेत्रको डिजिटलाइजेशन, दिगो विकास र इकोसिस्टम विस्तारमा लगानी गर्न जारी राख्नेछौं,’ उनले भने ।

कार्यक्रममा ह्वावेले खुला सहयोग र सेयर्ड सफलताको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गरेको छ । कम्पनीले स्थानीय डिजिटल इकोसिस्टम कल्टिभेट गर्न सरकार र उद्यमहरूलाई एकसाथ मिलेर काम गर्न आह्वान गरेको छ ।