कीवर्डहरू -

आईस्पानले भन्योः विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्दा सेवा दिन समस्या भयो

आईस्पानले भन्योः विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्दा सेवा दिन समस्या भयो

नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्दा सेवा प्रवाहमा अवरोध उत्पन्न भएको इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) नेपालले जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले विद्युत प्राधिकरणले तार काट्दा देशभर इन्टरनेट दिन समस्या भएको जानकारी दिएको हो ।

प्राधिकरणले एकतर्फी रुपमा विद्युत नियमन आयोग, नेपाल दूरसंचार प्राधिकरण, उपभोक्ताका प्रतिनिधित र सेवाप्रदायक सबैलाई वेबास्ता गरी OPGW, पोलको भाडा ६००-७०० प्रतिशत सम्म अचाक्ली वृद्धि गरेको थियो ।

त्यसपछि उक्त भाडादरको भार उपभोक्तामा पर्न जाने र यो कार्य डिजिटल नेपालको मर्म विपरित भएकाले राज्यको उच्चस्तरिय समिती गठन भई प्रतिवेदन दिएको थियो, जसमा विद्युत प्राधिकरणले आफैले सही छाप गरेको भए तापनि उक्त प्रतिवेदन कार्यान्वयन गर्न मानेको छैन् ।

प्रतिवेदन अनुसार कार्य नगरी प्राधिकरणले बढेको दर/रेट अनुसारको भाडा भुक्तानी गर्न दबाब दिइरहेको आईस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।

विद्युत प्राधिकरणले भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरुको डाटा सेन्टर, अपरेसनल पोइन्ट लगायत इन्टरनेट सेवा प्रवाह गर्ने तार छानिछानी काट्ने कार्य तिव्रता दिएको छ ।

यसरी अति आवश्यक इन्टरनेट सेवा अवरोध गर्दा उत्पन्न स्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने आईस्पानको भनाइ छ ।

देशमा अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्ने, देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन, मानव अधिकार स्थापित गर्न, उपभोक्ताको हकहित संरक्षण गर्न नेपाल सरकारको सम्बन्धित मन्त्रालयहरु, निकायहरु, मानव अधिकार (राष्ट्रिय/अन्तराष्ट्रिय) आयोगलाई अबिलम्ब आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न समेत आइस्पानले आह्वान गरेको छ ।