कीवर्डहरू -

विद्युत प्राधिकरणका कारण पोखरामा कुनै पनि बेला इन्टरनेट अवरूद्ध हुन सक्ने

विद्युत प्राधिकरणका कारण पोखरामा कुनै पनि बेला इन्टरनेट अवरूद्ध हुन सक्ने

पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन सेन्टरमा विद्युत विच्छेद गर्न थालेसँगै इन्टरनेट अवरूद्ध हुन सक्ने भएको हो ।

इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दा गर्दै पनि पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य Operation Center मा प्राधिकरणले छानेरै विद्युत काट्न थालेको बताए ।

सेवा प्रदायकहरुले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकाले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने आइस्पानले जनाएको छ भने यसको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ती समेत दिनुपर्ने माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले अचाकलि (६००-७०० प्रतिशतसम्म) आफूखुसी भाडा बढाए पश्चात सो भार उपभोक्तामा पर्न नदिन राज्यले उच्च स्तरिय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भनेकोमा नेपाल विद्युत प्राधिकरणले ठिक बिपरित अचाकलि बढेको भाडादरमै सम्झौता गरी भुक्तानी गर्न आउन गलत/गैरकानुनी ढङ्गले भाडा असुल गर्न खोजेको आइस्पानको आरोप छ ।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, मानव अधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकाय समक्ष सत्य तथ्य प्रस्तुत गरी हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अपिल गर्दा पनि स्थितिमा कुनै सुधार नआएको आइस्पानको गुनासो छ ।