इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदिश खड्काले नेपालमा ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको बताएका छन् ।
मंगलबार इसेवाले आयोजना गरेको प्रेस सम्मेलनमा खड्काले ९५ प्रतिशत कारोबार अझै पनि नगदमै हुने गरेको र त्यसलाई डिजिटलमा ल्याउन लडाइ जारी रहेको बताएका हुन् ।
‘नेपालमा ५ प्रतिशत कारोबार मात्रै अनलाइलबाट हुन्छ । अझै पनि ९५ प्रतिशत कारोबार नगदमै हुने गरेको छ,’ उनले भने, ‘९५ प्रतिशत नगद हुने कारोबारलाई अनलाइनमा ल्याउन हाम्रो लडाइ जारी छ ।’
पछिल्लो समय नेपालमा डिजिटल कारोबार लोकप्रिय हुन थालेको छ । महिनामा अर्बों कारोबार डिजिटल प्लेटफर्मबाट हुन्छ । तर पनि अधिकांश कारोबार नगदमै हुने गरेको छ ।
इसेवाको उद्देश्ये डिजिटल अर्थतन्त्रलाई निर्माण गर्ने रहेको बताउँदै खड्काले नगदमा हुने कारोबारलाई डिजिटलमा ल्याउन प्रयास गरिरहेको जानकारी दिए । डिजिटल अर्थतन्त्र निर्माणका लागि कम्पनीले यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थासँग सहकार्य गरिरहेको छ ।
सकेसम्म सम्पूर्ण सेवाहरू इसेवाबाट प्रदान गर्न तत्पर रहेको उनी बताउँछन् । ‘विभिन्न अवरोध र कठिनाल छिचोल्दै इसेवा १४ वर्षसम्म आइपुगेको छ,’ खड्का भन्छन्, ‘आगामी दिनमा इसेवाले अझै सरल, सुदृढ र सुरक्षित डिजिटल सेवा उपलब्ध गराउने छ ।’