कीवर्डहरू -

मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै

मंगलबार सुरक्षित इन्टरनेट दिवस मनाइँदै

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ माघ २४ गते मंगलबार नेपालसहित विश्वभर सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ । विगतदेखि नेपालमा पनि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउँदै आएको छ ।

यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनीहरू, सरकार र नीति निर्माताहरूलाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजूट हुन आह्वान गर्ने गर्दछ ।

बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखिँ नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ ।

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्ने भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँने भनाइ छ ।

चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्ने बताए ।

बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा दिवस पर्नुपर्ने रघुवंशी बताउछन् ।

बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दूर्व्वहार र शोषण, साइबरबुलिङ्ख, साइबर ग्रूमिङ्ख, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्दछ ।

आमाबुुबाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रूपमा प्रयोग गर्न सघाउँदछ । त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघसंस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुुरक्षित राख्न समयमैै उपयुुक्त कदम चाल्नु आवश्यक छ ।

कोभिड-१९ विश्व महामारी पछि विश्वव्यापी रूपमा अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए । सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको सङ्ख्या २६३,१३० पुगेको छ ।

यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिवन्ध पछि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको छ ।

यस वर्ष, सुरक्षित इन्टरनेट दिवस माघ २४ मा मनाइएता पनि, अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिनेछन् । चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछन् ।

नेपालमा सुरक्षित इन्टरनेट दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका पैंतीस भन्दा बढी संस्थाले ऐक्यबद्धता व्यक्त गरेका छन् ।

यसबाहेक, चाइल्डसेफनेट र सहकर्मी संस्थाहरू बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, चाइल्डफन्ड जापान, डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस, वेदः क्रिएशन सोसाइटी र लभ ग्रीन नेपाल लगायतले बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे सचेतनामूलक सञ्चालन गर्नुको साथै युवाहरुको अन्तरक्रिया, निबन्ध प्रतियोगिता, भिडियो प्रदर्शन र हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गर्नेछन् ।

त्यसैगरि सिविन नेपाल, अम्ब्रेला अर्गनाइजेसन र भ्वाइस अफ चिल्ड्रेन लगायतका बालबालिकाका मुद्दामा काम गर्ने संस्थाहरुले अनलाइन सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन गर्नेछन् ।