कीवर्डहरू -

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै

चाइल्डसेफनेटले आज अर्थात फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउँदै छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि फेब्रुअरी ७ मा हरेक वर्ष सुरक्षित इन्टरनेट दिवस’ मनाइने गरिएको छ ।

“राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ” भन्ने नाराका साथ आज नेपालसहित विश्वभर सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ । विगतदेखि नेपालमा पनि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउँदै आएको छ ।

प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा सुरक्षित इन्टरनेट दिवस’ विश्वका १७० भन्दा बढी देशहरुमा मनाइन्छ । सन् २०१९ देखि चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको नेपाल सचिवालयको रुपमा सुरक्षित इन्टरनेट दिवसका आयोजना र प्रवर्धन गर्दै आएको छ ।

यस दिवसले डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोगबारे सचेतना बढाउन तथा सुरक्षित अनलाइन संसार सिर्जना गर्नका लागि हामी सबैले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ ।

सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ ।

चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्ने बताए ।

बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा दिवस पर्नुपर्ने रघुवंशी बताउछन् ।

बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दूरव्यवहार र शोषण, साइबरबुलिङ्, साइबर ग्रूमिङ्, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्दछ ।

आमाबुुबाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रूपमा प्रयोग गर्न सघाउँदछ । त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघसंस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुरक्षित राख्न समयमै उपयुक्त कदम चाल्नु आवश्यक छ ।

कोभिड–१९ विश्व महामारी पछि विश्वव्यापी रूपमा अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए । सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको सङ्ख्या २६३,१३० पुगेको छ ।

यसबाहेक, चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरूमा सरकारले लगाएको प्रतिवन्ध पछि पनि दुईजनामा एक जना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको छ ।

यस वर्ष, सुरक्षित इन्टरनेट दिवस माघ २४ अर्थात आज मनाइएता पनि, अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिनेछन् । चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।

नेपालमा सुरक्षित इन्टरनेट दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय निकाय, आईएनजीओ, गैरसरकारी संस्था, सामुुदायिक संस्था, निजी क्षेत्र र सञ्चारगृह लगायतका पैंतीस भन्दा बढी संस्थाले ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

यसबाहेक, चाइल्डसेफनेट र सहकर्मी संस्थाहरू बाल विकास समाज, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, चाइल्डफन्ड जापान, डिजिटल ब्रोडकास्ट इनिसिएटिभ इक्वल एक्सेस, वेदः क्रिएशन सोसाइटी र लभ ग्रीन नेपाल लगायतले बालबालिका र युवाको लागि अनलाइन सुरक्षाबारे सचेतनामूलक सञ्चालन गर्नुको साथै युवाहरुको अन्तरक्रिया, निबन्ध प्रतियोगिता, भिडियो प्रदर्शन र हाजिरी जवाफ प्रतियोगिताहरु सञ्चालन गर्दै छ ।

त्यसैगरि सिविन नेपाल, अम्ब्रेला अर्गनाइजेसन र भ्वाइस अफ चिल्ड्रेन लगायतका बालबालिकाका मुद्दामा काम गर्ने संस्थाहरुले अनलाइन सुरक्षाबारे सचेतना कार्यक्रम सञ्चालन हुँदै छ ।