कीवर्डहरू -

यस्तो छ नख्खुमा एनसेलले बनाएको आधुनिक डेटा सेन्टर

यस्तो छ नख्खुमा एनसेलले बनाएको आधुनिक डेटा सेन्टर

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नख्खुमा आधुनिक डेटा सेन्टर तयार पारेको छ । कोरोना महामारीको बेला एनसेलले नख्खुको डेटा सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

सन् २०१५ मा भुकम्प गएपछि डेटा हराउने र सेवा प्रभावित हुने समस्या देखिएपछि एनसेलले डेटा सेन्टर बनाउने योजना बनाएको थियो । त्यसपछि कोरोना महामारीको समयमा विभिन्न कठिनाइका बाबजुद डेटा सेन्टर तयार पारिएको छ ।

एनसेललको नख्खुमा बनाएको टियर थ्री प्लस रेटिङ पाएको डेटा सेन्टर हो । यस्तो खालको डेटा सेन्टर दक्षिण एशियामै पहिलो भएको एनसेलले जनाएको छ ।

नख्खुको डेटा सेन्टर अटोमेटिक रूपमा सञ्चालन हुन्छ । डेटा सेन्टरलाई अटोमेटेड बनाउँदा ३० प्रतिशत जनशक्ति कम भएको एनसलेको भनाइ छ । डेटा सेन्टरलाई आधुनिक र अटोमेटेड बनाउन विभिन्न एआई प्रविधिहरू जडान गरिएको छ ।

भुकम्प प्रतिरोधक हुनेगरी डेटा सेन्टर निर्माण भएको छ । डेटा सेन्टरको क्षमता २५० र्‍याकको छ, जसमा ८८ वटा २२० भोल्टका र्‍याक एसी छन् भने बाँकी ४८ भोल्टका र्‍याक डिसी रहेका छन् ।

डेटा सेन्टरको सर्भिस लाइफस्प्यान २५ वर्ष अवधि रहेको छ । विद्युत अवरूद्ध हुँदा पनि डेटा सेन्टर निरन्तर चलिरहने छ । त्यसका लागि ५ वटा जेनेरेटर राखिएको छ । विद्युत जाँदा अटोमेटिक रूपमा जेनेरेटर अन हुने गरी व्यवस्था मिलाइएको छ ।

साथै जनेरेटर चलाउन आवश्यक पर्ने तेल ब्याकअपका रूपमा डेटा सेन्टरकै परिसरमा जमिनमुनी ट्यांकीमा राखिएको छ । तेल कम हुने बित्तिकै अटोमेटिक रूपमा तेल जेनेरेटरमा जाने व्यवस्था एनसेलले गरेको छ । प्रत्येक जेनेरेटरको क्षमता १२५० केभीए छ । ब्याकअफले ४८ घण्टाभन्दा बढी काम गर्न सक्ने बताइएको छ ।

एनसेलले व्यवसायिक प्रायोजनका लागि नख्खुको आधुनिक डेटा सेन्टर निर्माण गरेको हो । कुनै पनि संस्थालाई आफ्नो डेटा राख्नका लागि एनसेलले र्‍याक उपलब्ध गराउने छ ।

डेटा सेन्टरमा कुनै कारणबस आगलागी भएमा त्यसलाई डिटेक्ट गर्न भेस्डा नामक अटोमेटिक फायर डिटेक्सन प्रविधि जडान गरिएको छ ।

त्यस्तै आगो निभाउनका लागि नोभ्याक १२३० नामक अटोमेटिक प्रविधि समेत व्यवस्था गरिएको छ । एनसेलका अनुसार यो डेटा सेन्टर सुक्षिरत रहेको छ र सुरक्षाका लागि सम्पूर्ण उपायहरू अबलम्बन गरिएको छ ।

वातावरणलाई असर नपर्ने गरी इकोफ्रेन्डली डेटा सेन्टर बनाएको एनसेलले जनाएको छ । डेटा सेन्टरको एफिसियन्सी ९७ प्रतिशतभन्दा बढी भएको एनसेलको दावी छ । डेटा सेन्टरको २४ सैं घण्टा निगरानी हुने गरेको छ ।