पछिल्लो समय एआईको दुनियाँमा च्याटजीपीटी नामक च्याटबटले लोकप्रियता कमाइरहेको छ । च्याटजीपीटीको पुरा रूप जेनेरेटिभ प्रि-ट्रेन्ड ट्रान्सफर्मर (Chat Generative Pre-trained Transformer) हो ।
ओपन एआई कम्पनीले विकास गरेको च्याटजीपीटी २०२२ नोभेम्बर ३० बाट संचालनमा आएको थियो । यहाँ च्याटजीपीटीको बारेमा जान्नुपूर्व च्याटबटको बारेमा जान्न बढी आवश्यक छ, जसले च्याट जीपीटीको सिद्धान्तका बारेमा थप बुझ्न मद्धत गर्दछ ।
च्याटबट भन्नाले एक प्रकारको कम्प्युटर प्रोग्राम हो, जसले मानव अन्तरक्रियाको नक्कल गरी ग्राहक वा प्रयोगकर्ताको प्रश्नहरु बुझ्ने र जवाफ दिने गर्दछ । यस्ता साधनहरुले कृतिम बुद्धिमत्ता र प्राकृतिक भाषाको प्रयोग गर्दछन् ।
च्याट जीपीटीमा बहुमुखी प्रतिभा पाइन्छ । यसले धेरै भाषाहरु बुझ्न र त्यसकै आधारमा अनेक प्रतिक्रियाहरु दिन्छ । यसलाई हामीले विभिन्न लेखहरु लेख्न, लेखमा कला, शिल्प तथा शैलीको प्रयोग गर्न, लेखलाई प्रभावकारी, दरीलो र ओजस्वी बनाउन प्रयोग गर्न सक्छौं ।
यसका साथसाथै भाषाशैलीगत त्रुटिहरु सच्याउन, विभिन्न समस्याहरु समाधान गर्न, रिपोर्टहरु बनाउन प्रयोग गर्न सक्छौं । प्राविधिक क्षेत्रमा पनि यसलाई युट्युवमा नयाँ-नयाँ कन्टेन्ट बनाउन/खोज्न, कोडिङ गर्न, आकर्षक भनाइ तथा सन्देशहरु बनाउन, इमेल मार्केटिंग गर्ने लगायतका व्यापक क्षेत्रहरुमा प्रयोग गर्न सक्छौ ।
यसरी हेर्दा च्याटजीपीटीमा विशाल डाटा भण्डारण क्षमता भएकाले शारीरिक, मनोवैज्ञानिक, आथिक, शैक्षिक, सामाजिक, राजनीतिक जस्ता हरेक क्षेत्रमा यसको प्रयोग गर्न सक्छौ । साथै फुर्सदको समयको सदुपयोग गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
यति धेरै फाइदै फाइदा भएको च्याट जेपिटिको निरन्तर प्रयोग गर्नु मानव मस्तिष्कको वृद्धि बिकासका दृष्टिले घातक छ । सामान्य रुपमा यसको प्रयोगले खासै असर नगरेको देखिएता पनि विस्तृत रुपमा हेर्ने हो भने यसले हाम्रो सृजनशिलता, कल्पनाशक्ति, खोज अन्वेषण गर्ने बानी, समस्याहरुप्रति हाम्रो मस्तिस्कले गर्ने प्रत्यक्षीकरण जस्ता कुरालाई नष्ट गर्दछ ।
यसका अतिरिक्त च्याट जीपीटीले गलत उत्तरहरु दिन सक्छ । यसमा ज्ञानको सीमितता छ अथार्त सन् २०२१ पछिका घटनाहरूका बारेमा यसमा सीमित ज्ञान छ । कहिले काहिँ यसको उत्तरहरु हानिकारक र पक्षपाती हुन सक्छ ।
निचोडमा भन्दा सामान्य प्रयोजनका बाहेक अन्य प्रयोजनमा यसको नियमित प्रयोग नगर्नु नै मुनासिव हुन्छ । मनोवैज्ञानिक दिष्टिकोणका आधारमा विश्लेषण गर्दा यसले हाम्रो खोज्ने, स्मरण गर्ने, अध्ययन गर्ने, विश्लेषण गर्ने, तर्क गर्ने जस्ता मानव मस्तिस्काका सुन्दर र मुल्यवान पक्षहरुको नष्ट गरिदिन्छ ।
उदाहरणका लागि यदि हामीलाई शिक्षा मनोविज्ञानको बारेमा जानकारी प्राप्त गर्नु छ भने हामीले गुगल, पुस्तकहरु पढ्ने, सर्च इन्जिनमा गएर खोज्दा त्यसले त्यस्ता कुराहरुको बारेमा व्यापक रुपमा देखाउँछ र हामीले ती सबैको बारेमा अध्ययन गर्दा हाम्रो कुनै पनि कुरा प्रतिको धारणा राम्रो हुन्छ ।
तर यही कुरालाई च्याट जीपीटी जस्ता माध्यमहरुबाट सर्च गर्दा त्यसले दिएको सीमित ज्ञान नै हामीलाई उचित लाग्छ र हामीले अरु तिर खोजी गर्दैनौ, जसले गर्दा हाम्रो दिमागमा खोज्ने तथा अनुसन्धान गर्ने सीप नष्ट हुन्छ । यसरी हेर्दा च्याट जीपीटी मात्र नभई अन्य एआई टुलहरुको निरन्तर प्रयोग गर्नु उपयुक्त हुँदैन ।