कीवर्डहरू -

नेपाली टाइपिङका लागि मोबाइलमा कुन किबोर्ड प्रयोग गर्ने ? 

नेपाली टाइपिङका लागि मोबाइलमा कुन किबोर्ड प्रयोग गर्ने ? 

कम्प्युटरमा जस्तै मोबाइलमा पनि टाइपिङ गर्नका लागि किबोर्डहरु हुन्छन । यस्ता किबोर्डहरु प्राय: मोबाइलमा आफैं सिस्टमले जडान गरिदिएको हुन्छ ।

तर कहिलेकाही आफ्नो आवश्यकता अनुसार अतिरिक्त किबोर्डहरु डाउनलोड गर्नुपर्ने हुन्छ । गुगल प्ले स्टोर, एप स्टोर जस्ता विभिन्न माध्यमहरुबाट डाउनलोड गरेर अन्य किबोर्ड प्रयोग गर्छौं ।

किबोर्डको मुख्य अभिप्राय टाइपिङ गर्न मद्दत पुर्‍याउनु हो । मोबाइलमा नेपाली टाइपिङका लागि धेरै एप उपलब्ध भएपनि आज हामी हाम्रो नेपाली किबोर्ड र जीबोर्डको कुरा गर्दैछौं ।

हाम्रो नेपाली किबोर्ड

हाम्रो नेपाली किबोर्ड मुख्यतः नेपाली भाषीहरुलाई लक्षित गर्दै बनाइएको किबोर्ड हो । हाम्रो नेपाली किबोर्ड हाम्रो पात्रोले निर्माण गरेको हो ।

यस किबोर्डलाई हालसम्म १० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले डाउनलोड गरेका छन् । धेरै नेपाली भाषीहरूले नेपाली टाइपिङका लागि हाम्रो नेपाली किबोर्ड प्रयोग गर्ने गरेका छन् ।

हाम्रो नेपाली किबोर्डमा हामीले मुख्यतः अंग्रेजीबाट नेपालीमा रोमन ट्रान्सिलिरेसन, नेपाली ट्रेडिसनल युनिकोड, रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्न सकिन्छ । थिमका सन्दर्भमा कुरा गर्दा यहाँ डार्क र लाइट थिमको प्रयोग गर्न सकिन्छ ।

यसका अतिरिक्त यहाँ नेपाली चाडपर्व, धर्म, संस्कार, रीतिरिवाज र समय सापेक्ष विभिन्न परिवेश अनुसारका थिमहरु पनि उपलब्ध छन् ।

त्यसैगरी पछिको संस्करणमा यहाँ मेसेन्जर, भाइबर, जस्ता जुनसुकै एप्लिकेशनमा प्रयोग गर्न मिल्ने नेपाली स्टीकरहरु पनि समावेश गरिएको छ ।

त्यसैगरी इमोजीमा पनि यहाँ पछिल्लो समयमा आफ्नो मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थप गरिएको छ । हाम्रो नेपाली किबोर्ड एप गूगल प्ले स्टोर तथा एप स्टोर बाट डाउनलोड गर्न सकिन्छ ।

जीबोर्ड

जीबोर्ड किबोर्ड गूगलले तयार गरेको हो । यस किबोर्डलाई हालसम्म १२ मिलियन भन्दा बढी प्रयोगकर्ताहरूले डाउनलोड गरेका छन् । जीबोर्डमा ५०० बढी भाषाहरू उपलब्ध छन्, जहाँ भाषा अनुसारको किबोर्ड लेआउट राखिएको छ ।

थिमको सन्दर्भमा यहाँ लाइट, डार्क, ल्याण्डकोर (विभिन्न फोटोमा), लाइट र डार्क ग्रेडियन्ट थिमहरु रहेका छन् । दुवै किबोर्डमा आफ्नो फोटोलाई पनि थिममा राख्न सकिन्छ । यहाँ पनि विभिन्न इमोजीहरू, जिफहरु, विटमोजी, सिम्बोल तथा स्टिकर आदि उपलब्ध छन् ।

साथै यसमा भाषा अनुवादन, क्लिपबोर्ड, टेस्ट इडिटिङ, वन हाण्डेड, फ्लोटिङ, ग्लाइड टाइपिङ, ल्याङवेज प्रिफरेन्स जस्ता विभिन्न विशेषताहरू रहेका छन् । प्राय एन्ड्रोइड स्मार्टफोनमा इनब्युल्ट नै जीबोर्ड राखिएको हुन्छ तर आईओएस प्रयोगकर्ताले एप स्टोर बाट जीबोर्ड डाउनलोड गर्न सक्छन् ।

कुन प्रयोगकर्ताले कुन किबोर्ड प्रयोग गर्ने ?

नेपाली भाषा वा नेपाली टाइपिङको आधारमा विश्लेषण गर्दा हाम्रो नेपाली किबोर्ड राम्रो रहेको छ । नेपाली भाषा टाइपिङका लागि भनेर हाम्रो नेपाली किबोर्ड तयार गरिएको हो ।

जिबोर्डमा कहिलेकाहीं नेपाली अक्षरहरु स्पष्ट र शुद्धसँग टाइपिङ भइरहेको हुँदैन । यो समस्या हाम्रो नेपाली किबोर्डमा कमै देखा पर्दछ ।

यसका साथ साथै हाम्रो किबोर्डको डिटेल्स (i) मा नेपाली भाषाको स्वर, व्यञ्जन वा अन्य कुराहरू जस्तै शिरबिन्दु, चन्द्रविन्दु, आधा अक्षर आदि जस्ता कुराहरूको बारेमा स्पष्ट जानकारी दिइएको छ । यहाँ नेपाली वर्ण विन्यास शुद्धिकरण जस्ता विभिन्न विशेषताहरु पाउन सकिन्छ ।

यसका साथै हातले टाइप गर्न नरूचाउने वा हातले टाइप गर्दा अल्छी मान्ने प्रयोगकर्ताका लागि जीबोर्ड राम्रो हुन्छ किनकी यसमा ग्लाइड टाइपिङको सुविधा छ । ग्लाइड टाइपिङ भन्नाले एक कुञ्जी (कि) बाट अर्को कुञ्जीसम्म औंलाले टचस्क्रीन किबोर्डलाई स्वाइप गरेर टाइपिङ गर्नु हो ।

त्यसैगरी यसमा आफूले चाहे अनुसारका भाषाहरूमा टाइपिङ गर्न सकिन्छ । यसमा भाषा अनुवादको पनि व्यवस्था रहेको छ ।

यहाँ एक हाते टाइपिङको सुविधा पनि छ, जसले एक हातले टाइपिङ गर्नुपर्ने अवस्थामा धेरै मद्दत गर्छ । हामीले फलोटिङको माध्यमबाट किबोर्डलाई एक ठाउँबाट अर्को अर्को ठाउँमा पनि राख्न सक्छौं।

यसरी हेर्दा प्रयोगकर्ताको आवश्यकता, रुची, कार्यक्षेत्र, प्रायोजन आदिका आधारमा दुवै किबोर्डहरु आ-आफ्नो क्षेत्रमा अब्बल छन् । आफ्नो सहजता अनुसार हाम्रो नेपाली किबोर्ड र जीबोर्ड प्रयोग गर्न सक्नुहुनेछ ।