कीवर्डहरू -

पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुँदै, पटक पटक केवाईसी भर्नुपर्ने झन्झट हट्ने

पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुँदै, पटक पटक केवाईसी भर्नुपर्ने झन्झट हट्ने

पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुने भएको छ । अबको २ देखि ३ महिनामा पुँजी बजारमा केन्द्रिकृत डिजिटल केवाईसी लागु हुने भएको हो ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले विकास गरिरहेको केन्द्रितकृत डिजिटल केवाईसी सिस्टमको काम अन्तिम चरणमा पुगेको छ ।

सीडीएससीले तयार पारेको सिस्टम अहिले परीक्षण भइरहेको छ । सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले परीक्षणको चरणमा रहेको सिस्टम २-३ महिनामा लाइभ हुने बताए ।

सेक्युरिटी परीक्षण गरेर २ देखि ३ महिनामा सिस्टमको सेक्युरिटी परीक्षण गरेर लागु गर्ने तयारीसहित सीडीएससी अगाडि बढेको छ ।

केन्द्रिकृत डिजिटल केवाईसी लागु भएपछि ब्रोकर कम्पनी, मर्चेन्ट बैंकिङमा गएर डिम्याट, ब्रोकर, मेरो शेयर लगायतका खाता खोल्दा पटक पटक केवाईसी बुझाउनु पर्ने झन्झट अन्त्य हुनेछ ।

अहिले डिम्याट खाता, ब्रोकर खाता खोल्दा सम्बन्धित कार्यालयमा गएर छुट्टाछुट्टै केवाईसी भर्नुपर्ने व्यवस्था छ । तर केन्द्रितकृत डिजिटल केवाईसी सिस्टम लागु भएपछि यो समस्या हट्ने छ ।

सिस्टम लागु भएपछि पुँजी बजारको सेवा लिन दिने दुबैलाई फाइदा हुने न्यौपानेको भनाइ छ । ‘अहिले विभिन्न ठाउँमा गएर व्यक्तिगत रूपमा फरक फरक केवाईसी भर्नुपर्ने अवस्था छ । यसले सेवा लिनेलाई झन्झट भएको  भने सम्बन्धित कम्पनीलाई पनि डेटा व्यवस्थापन गर्न झन्झट छ,’ न्यौपानेले आइसिटी समाचारसँग भने, ‘तर केवाईसी सेन्ट्रलाइज्ड भएपछि त्यो झन्झट अन्त्य हुनेछ ।’

यसअघि ब्रोकर, मर्चेन्ट बैंकिङ लगायतका ठाउँमा खाता खोल्दा राखिएको केवाईसी विवरण केन्द्रिकृत सिस्टममा राखिएको छ । उक्त सिस्टममा राखिएको केवाईसी विवरणमा कुनै विवरण अपुग भएमा सम्बन्धित एउटा ठाउँमा गएर अपडेट गर्नुपर्नेछ ।

उदाहरणका लागि तपाईले ४-५ ठाउँमा पुँजी बजारको सेवा लिनुभएको छ भने कुनै एउटामा गएर केवाईसी अपडेट गर्दा हुन्छ, अरू ठाउँमा जानुपर्दैन् । एउटा ठाउँबाट अपडेट भएको केवाईसी सिधैं केन्द्रित सिस्टममा आउने छ । त्यसपछि अन्य ठाउँमा गइरहनु पर्दैन् ।

पुँजी बजार सेवा प्रदायकलाई पनि केन्द्रितकृत सिस्टमको पहुँच हुनेछ । यसका साथै यदी कुनै नयाँ ग्राहकले ब्रोकर, मर्चेन्ट बैंकिङमा खाता खोल्दा सेवा लिन चाहन्छ भने उसले अनलाइनबाटै केवाईसी भर्न सक्छ । तर एकपटकका लागि भने सम्बन्धित कार्यालयमा जानुपर्नेछ ।

प्रत्येक प्रयोगकर्तालाई युनिक केवाईसी आईडी दिइने छ । युनिक केवाईसी आईडीबाट आफ्नो केवाईसीमा पहुँच पाउन सकिने छ ।

सीडीएससी २०७६ सालदेखि केवाईसी सिस्टममा काम गर्न सुरू गरेको थियो । त्यतिबेला नेपाल धितोपत्र बोर्डको केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) निर्देशिका जारी गरेको थिएन् ।

तर २०७७ सालमा केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धि कार्य सञ्चालन गर्न निर्देशिका ल्याएको थियो । सेबोनको निर्देशिकामा सेन्ट्रलाइज्ड हुनुपर्ने व्यवस्था आएपछि पुनः त्यसलाई परिमार्जन गर्दा समय लागेको उनले बताए ।

‘पहिले केवाईसीलाई डिजिटल गर्ने गरी सिस्टम बनाउन काम थालेका थियौं,’ उनी भन्छन् ‘ तर सेबोनको निर्देशिकामा सेन्ट्रलाइज्ड हुनुपर्ने व्यवस्था आएपछि नयाँ निर्देशिका अनुसार काम गर्नुपर्दा समय लागेको हो ।’

नेपाली भेन्डहरूले उक्त सिस्टम बनाएका हुन् । केन्द्रिकृत डिजिटल केवाईसीको डेटा सरकारी डेटा सेन्टर जीआईडिसीमा राखिएको छ । जीआईडीसीमा ठाउँ मात्र लिएको र डेटाको पहुँच सीडीएससीसँग मात्रै हुने न्यौपानेले बताउँछन् ।