कीवर्डहरू -

संरचना निर्माण वा विस्तारका क्रममा समन्वय नहुँदा हजारौं ग्राहक सेवाबाट वञ्चित भएः टेलिकम

संरचना निर्माण वा विस्तारका क्रममा समन्वय नहुँदा हजारौं ग्राहक सेवाबाट वञ्चित भएः टेलिकम

नेपाल टेलिकमले ग्राहकलाई सेवा प्रदान गर्नका लागि अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी सेवा सञ्चालन गरिरहेको छ ।

तर सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुग्ने र दूरसञ्चार सेवाहरु प्राप्त गर्न तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको टेलिकमले बताएको छ ।

यही क्रममा काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गई हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित रहनुपरेको थियो ।

यस्तै अवस्थालाई मध्यनजर गरी संरचना निर्माण वा विस्तारको क्रममा सम्बन्धित निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता रहेको टेलिकमको भनाइ छ । सबै निकायसँग समन्वय र सहकार्यका लागि सदैव तत्पर रहेको टेलिकमले जानकारी दिएको छ ।

दूरसञ्चार अत्यावश्यक र संवेदनशील सेवा समेत भएकोले सबै सम्बन्धित पक्ष तथा आम सर्वसाधारणमा निरन्तर सेवा प्रवाहमा साथ दिन समेत टेलिकमले अनुरोध गरेको ।

संरचनामा क्षति पुगी सेवा सञ्चालनमा समस्या आउँदा सेवा निरन्तरताका लागि तत्काल मर्मत कार्य अघि बढाउने गरिएको छ । यस क्रममा क्षतिको प्रकृति अनुसार पुनः सेवा सुचारु गर्न केही समय लाग्नसक्ने सम्भावना पनि रहन्छ ।

विविध कारणबाट ग्राहकवर्गले निरन्तर सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाप्रति क्षमा माग्दै सेवा प्रयोगमा निरन्तरताको अपेक्षा गरेको टेलिकमले जनाएको छ ।