संयुक्त राष्ट्रसंघको सन् २०२२ को प्रतिवेदन अनुसार विश्वमा ३७ प्रतिशत महिलाहरु इन्टरनेटको प्रयोग गर्दैनन् वा इन्टरनेटको पहुँचबाट टाढा छन्।
विद्यमान २१ औ शताब्दीमा सानो भन्दा सानो काम पनि इन्टरनेटको माध्यमबाट हुँदै आएकोमा यस किसिमको डिजिटल असमानताले सामाजिक असमानतामा प्रत्यक्ष असर गरेको छ।
यति मात्र होइन, संयुक्त राष्ट्रसंघबाट विश्वको ५१ राष्ट्रहरुको अध्ययन प्रतिवेदनमा करिब ३८ प्रतिशत महिलाहरु अनलाइन हिंसामा परेको उल्लेख भएको छ। महिलाहरु भौतिक रुपमै महिला हिंसाको शिकार भई विभिन्न क्षेत्रमा पछाडि पर्दै आएको सन्दर्भमा अब यस किसिमको अनलाइन हिंसाले थप समस्या उत्पन्न भैरहेको छ।
यस किसिमको डिजिटल असमानताले महिलाहरुको सामाजिक उपस्थितिमा परेको प्रभावलाई मध्य नजर गर्नु पर्ने आजको आवश्यकता हो।
संयुक्त राष्ट्रसंघको UN Women’s Gender Snapshot Report 2022 अनुसार महिलाहरुलाई डिजिटल समाजबाट अलग गर्दा विभिन्न देशमा करिब एक सय खर्ब अमेरीकी डलरको हानी नोक्सानी भएको छ। सन् २०२५ सम्ममा यस किसिमको हानी नोक्सानी करिब डेढ यस खर्ब अमेरीकी डलर पुग्न सक्ने अनुमान गरिएको छ।
यस सन्दर्भमा संयुक्त राष्ट्रसंघले यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा डिजिटल समाजमा महिलाको सुरक्षालाई प्राथमिकता राखी DigitAll को नारा अघि सारेको छ।
सन् १९११ बाट अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदै आएकोमा विश्वमा भैरहेको परिवर्तनलाई आत्मसात गर्दै यस वर्ष महिलाहरुको डिजिटल समाजमा सहभागिताको सुनिश्चितताको लागि “DigitAll: Innovation and Technology for Gender Equality” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्व भर यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदैछ ।
यस नारा संयुक्त राष्ट्रसंघको Commission of the Status of Women को ६७ औं अधिवेशनको प्रमुख विषयवस्तु “Innovation and technological change, and education in the digital age for achieving gender equality and the empowerment of all women and girls” मा आधारित छ ।
विश्वको पहिलो प्रोग्रामर महिला भए पनि तिनका विषयमा कमै मात्र प्रचार प्रसार भएको देखिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघको प्रतिवेदन अनुसार विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा ३० प्रतिशत मात्रै महिलाहरु छन्। अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आफ्नो १५७ वर्षको इतिहासमा बल्ल यस वर्ष मात्र महिला महासचिव निर्वाचित भएको देखिन्छ।
यसले विश्वमै प्रविधिको क्षेत्रमा महिलाहरुले गरेको योगदान ओझेलमा परेको र महिलाहरुले नेतृत्वदायी भूमिकामा पुग्न निकै संघर्ष गर्नु पर्ने देखाउँछ।
तसर्थ, प्रविधिको क्षेत्रमा अहोरात्र खटिएका महिलाहरुले गरेका योगदानलाई बुलन्द पार्नु पर्ने आजको आवश्यकता भैसकेको छ । साथै महिलाहरुलाई प्रविधिको क्षेत्रमा नेतृत्वदायी भूमिकामा ल्याउन आवाज उठाउन जरुरी भैसकेको छ ।
यसका लागि प्रविधिको क्षेत्रको नीति निर्माण, संरचना निर्माण लगायतका कार्यमा बन्ने विभिन्न कार्यदल, अध्ययन टोली, सभा, सम्मेलन इत्यादिमा महिलाहरुको अनिवार्य उपस्थिति बनाउँदे लगेमा प्राविधिक महिलाहरुमा सबल नेतृत्वको विकास हुने देखिन्छ।
विश्वमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको ५० वर्ष पश्चात मात्रै नेपालमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आएको अवस्था छ।
यस वर्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने राष्ट्रिय नाराका साथ नेपालमा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदैछ।
महिलाको प्रविधिमा पहुँचको सुनिश्चितता गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस दिवस मनाईँदैछ।
नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा महिलाहरुको उपस्थिति न्यून भएको तीतो यथार्थलाई स्वीकार गरी ब्रोडव्याण्ड नीति, २०७१ मा लैंगिक विभेद मुक्त सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिने र सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा लैंगिक असमानता कम गर्नुका साथै लैंगिक हिंसा रोकथाम गर्ने र लैंगिक हिंसा सम्बन्धी उजुरी प्रकरिया सहज बनाउन तथा त्यस प्रकारका घटनाहरु सम्बोधनमा समन्वय प्रबर्द्वन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाइने, ग्रामीण क्षेत्रमा विभिन्न सरकारी एवं गैर सरकारी संस्थाहरु मार्फत युवा तथा महिलाहरुलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिने, सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरुलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायतका प्रक्रियाहरुमा सहभागी गराइने र शुरुवाती(Start up) लगायत इन्क्युबेटर परियोजना(Incubator Project) हरुको प्रबर्द्वन मार्फत युवा तथा महिलाहरुमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उद्यमशीलता विकास गर्न नीतिगत व्यवस्था गरिने उल्लेख गरेको छ।
नेपाल सरकारले अवलम्बन गरेको डिजिटल नेपाल निर्माणमा महिलाहरुले समान सहभागिता जनाई अर्थपूर्ण योगदान पु-याउनु आजको आवश्यकता हो। नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकारबाट आफ्नो नीति तथा कार्यक्रममा सिर्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्न अपरिहार्य भैसकेको छ।
यसका लागि महिलाहरुलाई इन्टरनेटको पहुँचमा पु-याउन तथा सुरक्षित इन्टरनेटको अनुभूति गराई डिजिटल क्षमता अभिबृद्दी गरी विज्ञान, प्रविधि, गणित तथा इन्जिनियरिंग विषयमा आधारित प्रविधिमैत्री पेशामा बढी भन्दा बढी महिलाहरुलाई क्रियाशिल बनाउनु पर्दछ।
चालू आ.व.को डिजिटल साक्षरता कार्यक्रममा आधा आकाश ढाकेका महिलाहरुको कम्तीमा पनि ५० प्रतिशतको सहभागिता सुनिश्चित गर्नु पर्ने देखिएको छ ।
सूचना तथा सञ्चार प्रविधिमा महिलाहरुको उपस्थितिलाई मापन गर्न सरकारी तथ्यांक निर्माण गर्नु पर्ने आवश्यकता समेत भैसकेको छ।
सामाजिक घर व्यवहारमा महिलालाई केन्द्रविन्दुमा राखे जस्तै प्रविधिको क्षेत्रमा महिलाहरुलाई केन्द्रमा राखी अघि बढेमा सबै क्षेत्रमा प्रविधि मैत्री सेवा व्यापक रुपमा अघि बढाउन सकिने देखिन्छ।
प्रविधिको क्षेत्र यसरी हरेक अन्य क्षेत्रको सहजीकरणमा हातेमालो बढ्दै अघि बढ्न सकिने क्षेत्र भएको र महिलाहरुलाई यस क्षेत्रमा सक्रिय सहभागिता गराएमा संयुक्त राष्ट्र संघले अगाडि सारेको लैंगिक समानता, गरिबी निवारण तथा भोकमरी नियन्त्रण जस्ता दिगो विकासका लक्ष्य पूर्तिका सहयोग पुग्ने देखिन्छ ।
(लेखिका नेपाल दूरसञ्चार प्राधिकरणका उप-निर्देशक तथा सूचना प्रविधिमा महिलाकी कार्यकारी सदस्य हुन्।)