कीवर्डहरू -

सूचना प्रविधिमा महिलाको अवस्था 

सूचना प्रविधिमा महिलाको अवस्था 

अहिलेको समय सूचना प्रविधिको हो । आजको दिनमा सूचना प्रविधि (आईटी) दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको अवस्था छ ।

सूचना प्रविधि जीवनको महत्त्वपूर्ण भाग बन्दै गर्दा यस क्षेत्रमा लाग्ने महिलाहरूको उपस्थिति समेत बढ्दो छ । सुरू सुरूमा सूचना प्रविधिमा महिलाहरूको आकर्षण त्यति नभएपनि पछिल्लो समय आकर्षण बढ्दो छ ।

सूचना प्रविधि विषय पढ्ने महिलाको संख्या पनि बाक्लिदै गइरहेको छ । पहिला स्वास्थ्य, व्यवस्थापन लगायतका अन्यमा धेरै रूची राख्ने महिलाहरू समेत सूचना प्रविधि पढ्न थालेका छन् । सूचना प्रविधि पढाइ हुने कलेजमा छात्रा विद्यार्थीको संख्या प्रशस्त देख्न पाइन्छ ।

नेपाल प्रहरीकी पूर्व डिआईजी तथा सूचना प्रविधिमा महिला संस्थाकी उपाध्यक्ष शिला कंसाकार कार्कीले पछिल्लो समय सूचना प्रविधिमा महिलाको संख्या उल्लेख्य मात्रामा बढेको बताइन् ।

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्ने महिलाहरूको संख्या सिमित भएपनि अब्बल छन् । सरकारीदेखि निजी क्षेत्रसम्मलाई प्रविधिमैत्री बनाउन योगदान छ । नीति निर्माण तहमा बसेर समेत काम गरेका छन् । नेपालको सूचना प्रविधि क्षेत्रलाई अहिलेको ठाउँसम्म ल्याउन आइसिटीमा काम गर्ने महिलाको योगदान भल्नु हुँदैन् ।

सूचना प्रविधिमा महिलाहरूको संख्या बढ्दै गएपनि त्यो पर्याप्त भने छैन् । विश्वभर नै प्रविधिको क्षेत्रमा महिलाहरूको उपस्थिति कमजोर छ । सन् २०२२ को एक डेटा अनुसार विश्वका करिब २२ प्रतिशत महिला आइसिटी क्षेत्रमा सहभागी भएको अनुमान छ ।

सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन बच्चादेखि नै प्रेरित गर्नुपर्ने बिहे नेपालकी सह-संस्थापक श्रेया कटुवालले बताइन् । ‘सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन सानैदेखि प्रेरित गर्न आवश्यक छ,’ उनले भनिन, ‘यसका साथै महिलाहरूले पनि प्रविधिमा केही गर्न सक्छन् भने आत्मविश्वास जगाउनु पर्छ ।’

नेपालमा अहिले पनि विद्यालयस्तरमा सूचना प्रविधिको बारेमा थाहा छैन् । दुर्गमका गाउँहरूमा सूचना प्रविधिको आधारभूत जानकारी पनि छैन् ।

सरकारले सूचना प्रविधिमा जोड दिएपनि त्यो अप्रर्याप्त छ । केही काम भएपनि त्यसको प्रभावकारिता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको छ । सरकारले पनि सूचना प्रविधिमा महिलाको संख्याको बढाउन जोड दिनुपर्ने देखिन्छ ।

प्रविधिमा महिलाको सहभागीता बढाउन सशक्तिकरणमा जोड दिनुपर्ने कार्की बताउँछिन् । ‘सूचना प्रविधिमा महिलाको संख्या बढ्दै गएको छ तर अझै बढाउन सशक्तिकरणमा जोड दिनुपर्छ,’ कार्कीले आइसिटी समाचारसँगको कुराकानीमा बताइन्, ‘महिला पनि आफै इम्पावर हुनुपर्छ । महिलालाई आईटीमा लाग्न प्रोत्साहन गर्नुपर्छ ।’

नेपाली समाजमा अझै पनि महिलालाई ‘कमजोर’ दृष्टिकोणले हेर्ने जमात उत्तिकै छ । संविधानमा समान अधिकारको कुरा गरेपनि वास्तविकतमा त्यो अवस्थामा छैन् । पहिलेको जस्तो विभेद नभएपनि अझै पनि समाजमा महिला र पुरूषबीच विभेद कामयमै रहेको छ । उक्त विभेदले पनि महिलाहरू अग्रपंक्तिमा आएका छैन् ।

बिहे नेपालकी अर्की सह-संस्थापक श्रद्धा कटुवाल पनि सूचना तथा सञ्चार प्रविधिमा महिलाको संख्या बढाउन ‘माइन्डसेट’ नै परिवर्तन गर्नुपर्ने बताउँछिन् । महिलाहरू आफुलाई अब्बल बनाउँदै समाजमा भएका नकारात्मक धारणा चिर्न अगाडि बढ्नुपर्ने उनको तर्क छ ।

बढ्दो प्रविधिको पहुँचसँगै अनेकन समस्या आइरहेका छन् । प्रविधिको पहुँचसँगै भित्रिएको जल्दो बल्दो समस्या हो, साइबर सुरक्षा । प्रविधिको माध्यमबाट हुने हिंसाबाट धेरै महिलाहरू पिडित भइरहेका छन् । प्रविधिमार्फत हुने यस्ता किसिमका हिंसाबाट बच्न डिजिटल साक्षरताको जरूरी भइसकेको छ ।

सूचना प्रविधिमा काम गर्ने महिलाहरूलाई सशक्तिकरण तथा प्रोत्साहन गर्न र यस क्षेत्रमा महिलाहरूलाई आकर्षण गर्न स्थापना भएको संस्था सूचना प्रविधिमा महिलाले डिजिटल साक्षरतामा काम गरिरहेको छ ।

संस्थाले बेला बेला महिलाहरूलाई डिजिटल साक्षरता, साइबर सेक्युरिटी लगायतका सूचना प्रविधिका विषयमा जनचेतना कार्यक्रम आयोजना गर्दै आएको कार्कीको भनाइ छ । सूचना प्रविधिमा महिलाको उपस्थिति बढाउन सरकार र निजी क्षेत्र लगायत सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने देखिन्छ ।