कीवर्डहरू -

हामीले डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउन सकेका छैंनौः सीईओ विष्ट 

हामीले डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउन सकेका छैंनौः सीईओ विष्ट 

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपेश विष्टले डिजिटल परिवर्तन र डिजिटल रूपान्तरणमा फरक छुट्याउनु नसकेको बताएका छन् ।

बुधबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको कार्यक्रममा सीईओ विष्टले यस्तो बताएका हुन् ।

‘नेपालमा डिजिटल चेन्ज र डिजिटल रूपान्तरमा फरक छुट्याउन सकेका छैनौं,’ उनले भने, ‘यदी फरक छुट्याउन सकेको भए डिजिटल नेपाल फ्रेमवर्कको हालत यो हुँदैन्थ्यो । फ्रेमवर्कको कार्यान्वयन १० प्रतिशत पनि राम्रोसँग भएको छैन् ।’

फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका निर्देशक समिति, समन्वय समिति, उपसमिति, डिजिटल नेपाल व्यवस्थापन कार्यालयको व्यवस्था गरिएको छ । तर बिडम्बना फ्रेमवर्क अनुसार बनेको समितिको बैठक न समयमै बस्न सफल भएको छ न डिजिटल नेपाल व्यवस्थापना कार्यालय नै बनेको छ ।  यसले गर्दा डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेका धेरैवटा सिस्टम बनेका नै छैनन् ।

कार्यक्रममा बोल्दै विष्टले इन्नोभेसन र प्रविधिको लैंगिक समानता कायम गर्न सक्ने बताए । ‘इन्नोभेसन र प्रविधिले नेपालमा जति महिलाहरूलाई जोड्न सक्नु पर्ने थियो त्यति जोड्न सकेको छैन्,’ उनले अगाडि भने । राज्य निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा उनको जोड छ ।

विष्टले इष्टोनियाको उदाहरण दिदै नेपालमा एक पटक मात्रै नागरिकको सूचना संकलन गर्न पाउने नियम ल्याउनु पर्ने बताए । अहिले सरकारका निकायलाई नागरिकले पटक पटक एउटै विवरण दिइरहनु पर्ने झण्झट छ । यसले गर्दा सहज सेवा प्रवाहमा सास्ती समेत भइरहेको छ ।