कीवर्डहरू -

वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी 

वर्ल्डलिंकमा भित्रियो करिब २ अर्ब लगानी 

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकमा करिब दुई अर्ब लगानी भित्रिएको छ । सोमबार एक कार्यक्रमकाबीच ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वर्ल्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गरेको कम्पनीले जानकारी दिएको हो ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ भने डोल्मा इम्प्याक्ट फण्डले ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट यसअघि सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको लगानी कम्पनीले भित्र्याइसकेको छ ।

यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

यस्तै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्राविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले थप लगानीमार्फत नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवा पुग्ने र स्थानीय अर्थतन्त्रमा सहयोग हुने बताए ।

कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वर्ल्डलिंकलाई गरेको सहयोग र सहकार्यले आफू गौरवान्वित भएको बताइन् ।

त्यसैगरी डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईले नेपालमा सबैभन्दा छिटो आर्थिक फड्को मार्ने उद्योग डिजिटल भएको जानकारी दिए ।