कीवर्डहरू -

वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ

वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ

वानएक्स बेटबाट सट्टेबाजी गराउने ६ जना व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उपत्यकाको लोकन्थली, पेप्सीकोलाबा लगायतका स्थानबाट ६ जनालाई पक्राउ गरेको हो ।

बेटिङ एप्लिकेसन वानएक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको सूचनाको आधारमा यस कार्यालयबाट खटिएको अनुसन्धान टोलीले चैत ६ गते उपत्यकाको लोकन्थली, पेप्सीकोलाबा लगायतका स्थानबाट पक्राउ गरेको कार्यालयले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई विभिन्न सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड जम्मा धान ३४६ सहित नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको छ ।

पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ खलङ्गा घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय दिलीप सिंह कठायत, जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १० गैरीगाउँ घर भई हाल जिल्ला भक्तपुर लोकन्थली बस्ने २३ वर्षीय भुपालराज न्यौपाने, जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ५ तलिवाडा घर भई हाल जिल्ला भक्तपुर गठ्ठाघर बस्ने १९ वर्षीय नयनराज भण्डारी, सर्लाहीको बलरा नगरपालिका वडा  नं. ५ घर भई हाल काठमाडौं महानगरपालिका वडा न. ३२ बस्ने २८ वर्षीय वरुणकुमार सिंह, काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने ३२ वर्षीय वासुदेव पाण्डे र काभ्रेपलाञ्चोकको मादनकुडारी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीया शिवानी तामाङ रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरू मध्ये दिलिप सिंह कठायतले विगत १ वर्षदेखि, भुपाल राज न्यौपानेले विगत ९ महिना देखि नयनराज भण्डारीले विगत ६ महिनादेखि, बरूण कुमार सिंहले बिगत ६ महिनादेखि, शिवानी तामाङले आफ्नै नाममा खाता खोली रोमन गुरुङलाई उक्त खाता चलाउन दिई विगत ८ महिनादेखि र वासुदेव पाण्डेले बिगत १ महिना देखि वानएक्स बेटमा सट्टाबाजी गर्ने एजेन्टको रुपमा कार्य गर्न थालेका थिए ।

विभिन्न Wallet बाट संकलन गरेको रकम पक्राउ परेका दिलिप सिंह कठायत, भूपालराज न्यौपाने र नयनराज भण्डारीले आपने नाममा रहेको ८ वटा र आफ्नो बहिनीको नामको २ वटा, INFIWAVE नामको नक्कली कम्पनीको खडा गरि उक्त नाममा २ वटा कर्पोरेट खाता गरि जम्मा १२ वटा खाता सञ्चालन गरि बेटिङ कारोबार गरेको उक्त १२ वटा खाताहरु मध्ये कारोबार विवरण प्राप्त भएको ९ वटा खाता मार्फत् हालसम्म जम्मा रू. ७ कोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ कारोबार गरेको देखिएको र बाँकी ३ वटा खाताको विवरण प्राप्त हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बरुण कुमार सिंहले आफ्नै नाममा ४ वटा र विभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोली बेटिङ कारोबार गर्ने गरेकोमा कारोवार विवरण प्राप्त भएको ४ वटा खातामा जम्मा रु. ८२ लाख ३२ हजार ७७० बराबरको कारोबार देखिएको र अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकी अर्का व्यक्ति शिवानी तामाङको जम्मा ३ वटा खातामार्फत् बेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताको प्राप्त विवरणमा जम्मा रु. ४७ लाख ९३ हजार २० बराबरको रकम कारोबार भएको देखिएको छ भने १ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको छ ।

हाल सम्म अनुसन्धानको क्रममा विभिन्न ३५ जना व्यक्तिको नाममा खोलिएको डिजिटल वालेटहरूमा जम्मा रु. ४१ करोड १५ र २०६ बराबरको बेटिङ कारोबार देखिएकोमा सो वालेटहरूको समेत कारोबार रोक्का राखी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न १५ व्यक्तिको ३४ वटा बैंक खातामार्फत लम्मा रु १२ करोड २५ लाख ३५ हजार ९११बराबरको रकम बेटिङ कारोबार देखिएकोमा सो बैंक खाताहरु समेत रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्राप्त भएका विवरणअनुसार पक्राउ परेका व्यक्तिबाटसम्म जम्मा ९ करोड ८ लाख १३ हजार १०८ मराबरको रकम बेटिङबाट कारोबार भएको देखिएको छ ।