सरकारले पहिलो पटक स्टार्टअपलाई परिभाषित गर्न लागेको छ । नेपालमा केही वर्षदेखि स्टार्टअपको चर्चा हुँदै आएको भएपनि त्यसको कुनै आधिकारिक परिभाषा थिएन् ।
तर अब सरकारले स्टार्टअप व्यवसायलाई परिभाषित गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेर आन्तरिक छलफलमा ल्याएको ‘राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९’ मा स्टार्टअपको परिभाषा समेटिएको छ ।
उक्त मस्यौदामा ‘उद्यमशील समूहले वस्तु, सेवा वा प्रक्रियाको विकास, उत्पादन, सञ्चालन र वितरणमा नविन अन्वेषण एवम् सिर्जनशील सोचको प्रयोग गरी व्यवसायिक रुपमा सञ्चालन भइ स्तरोन्नतिको सम्भावना रहेको उद्यम वा व्यवसाय नै स्टार्ट अप हो’ भनेर परिभाषित गरिएको छ । त्यस्तै स्टार्टअपको उद्यम व्यवसायको परिभाषा अन्तर्गत साना तथा मझौला व्यवसायलाई नसमेटिने बताइएको छ ।
पूर्णकालिन कामदारहरुको संख्या १० जना बढी नभएको, बार्षिक कुल आम्दानी ५० लाखभन्दा बढी नभएको, स्थिर पूँजी (जग्गाको मूल्यसमेत) २ करोड भन्दा बढी नभएको र चूक्ता पूँजी ५० लाख भन्दा बढी नभएको, कुनै वस्तु तथा सेवाको उत्पादन, विकास वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएको समस्यालाई समाधान गर्न सूचना प्रविधिकोउपयोग एवं सिर्जनशील सोचको प्रयोगको कार्य, वार्षिकरूपमा गर्ने कुल खर्चको कम्तिमा १० प्रतिशत अंश उत्पादन विकास, बजार विकास एवं अनुसन्धान र विकासमा खर्च गर्ने तरिका, बौद्धिक सम्पत्तिको पेटेन्ट वा डिजाइन वा सफ्टवेयर दर्ता गर्न योग्य रहेको उद्यम व्यवसायलाई मात्रै स्टार्ट अप व्यवसाय मानिने मस्यौदामा राखिएको छ ।
यस्तै प्रचलित कानुन बमोजिम नेपालमा दर्ता नभएको, वस्तु तथा सेवाको खरिद बिक्री (एजेन्सी मोडल) को कार्य गर्ने व्यवसाय, विद्यमान कम्पनी वा व्यवसायलाई टुक्राएर बनाइएको वा सहायक कम्पनी वा फर्मको रुपमा काम गर्ने, सूचना प्रविधि एवं नविनतम सोचको प्रयोग नगरी वस्तु वा सेवा विदेशवाट आयात गर्ने कार्य, कर्जा सूचना केन्द्रमा कालोसूचिमा परेको वा त्यस्तो व्यक्तिवाट सञ्चालन भएको, कर प्रयोजनको लागि स्थायी लेखा नम्बर नलिएको, होल्डिङ्ग कम्पनीको रुपमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम मझौला वा ठूला उद्योगको वर्गिकरणमा पर्ने उद्यम र प्रचलित कानूनले प्रतिबन्ध लगाएका अन्य विषयलाई स्टार्टअप व्यवसाय नमानिने मस्यौदामा प्रष्ट पारिएको छ ।
मस्यौदामा कुन कुन उद्यम स्टार्टअप व्यवसायको रूपमा रहने समेत व्यवस्था गरिएको छ । उल्लेख भए अनुसार कृषि तथा पशुपंक्षीमा आधिरत, वन (जडिबुटी, पैदावार) मा आधारित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित (ए) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित, सहज सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित क्षेत्रका व्यवसाय स्टार्टअपको रूपमा सञ्चालन हुन सक्ने छन् ।
यस बाहेक विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित, परम्परागत प्रविधि उत्पादन उत्पादन र सेवा प्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित, खनिज, अनुसन्धान र विकाससँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका, वस्तु तथा सेवाको वितरण प्रणाली सम्बन्धित र परम्परागत पेशा तथा उद्यमको पनुर्जागरण सम्बन्धित उद्यम स्टार्टअपको रूपमा सञ्चालन गर्न सकिने मस्यौदामा व्यवस्था गरिएको छ ।