यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै पैसा बुझाउन सकिने व्यवस्था गर्न लागेको बताएका छन् ।
सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा महानिर्देशक भट्टराईले यस्तो बताएका हुन् ।
ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिँदा त्यसको शुल्क पनि अनलाइनबाटै तिर्ने व्यवस्था हुँदा कार्यालयसम्म धाउनु पर्ने समस्या हट्ने छ । अहिले फाराम अनलाइनबाटै भरेपनि त्यसको शुल्क बुझाउन भने यातायात कार्यालय जानुपर्ने व्यवस्था छ ।
‘ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । पैसा तिर्न र बायोमेट्रिक दिन कार्यालय आउनु पर्ने अवस्था छ,’ उनले भने, ‘अब अनलाइनबाटै पैसा बुझाउन सकिने गरी काम अगाडि बढाएका छौं । केही समयमा उक्त सुविधा उपयोग गर्न पाइने छ ।’
त्यसपछि बायोमेट्रिक दिन मात्रै कार्यालय जानुपर्नेछ । राष्ट्रिय परिचयपत्र बनाउँदा लिएको बायोमेट्रिक डेटा विभागको सिस्टमसँग नगरेसम्म कार्यालयमै जानुपर्नेछ ।
राष्ट्रिय परिचयपत्रको डेटा विभागको सिस्टमसम्म लिंक गरेपछि बायोमेट्रिकका लागि यातायात कार्यालयसम्म जानु नपर्ने र त्यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।