कीवर्डहरू -

अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ

अनलाइनबाट ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ

अनलाइन मार्फत ठगी गर्ने नेपाली तथा चिनियाँ नागरिकहरू पक्राउ परेका छन् । काठमाडौं अपराध अनुसन्धान कार्यालयले काठमाडौको विभिन्न स्थानहरुबाट ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिकसहित १९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली नागरिकहरूमा बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारी, अर्जुन श्रेष्ठ, अनिता मगर, रविना मगर, सुनिता गुरूङ, जुमना गोले र अनु गुरूङ रहेका छन् ।

यस्तै चिनियाँ नागरिकमा हुङ हुएरङ, छु फिजाङ, लान हेङवी, सी गुए यी, सी सुआङ दी, गाओ मिङ, इयु पिङ भिङ, चेन दुर लिन र लिन जिन होङ रहेका छन् ।

काठमाडौंको विभिन्न स्थानमा घर भाडामा लिई चिनियाँ नागरिकहरुले अवैध रुपमा अफिस संचालन गरी सामाजिक संजाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइन मार्फत बिजनेसबाट ठुलो रकम फाईदा हुन्छ भनी टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभन पार्ने गरेको सूचना प्रहरीले पाएको थियो ।

उक्त सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौको विभिन्न स्थानहरुबाट ठगी कार्यमा प्रयोग गरिएका निम्न विधुतीय उपकरणहरुसहित ठगी कार्यमा संलग्न ९ जना चिनियाँ नागरिक र १० जना नेपाली नागरिक सहित १९ जना व्यक्तिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत १४ गते काठमाडौको बुढानिलकण्ठ न.पा.वडा नं.२ महादेबखोला र का.जि. का.म.न.पा वडा नं.४ चण्डोलबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकाहरूलाई सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको प्रहरीले जानकारी दिएको छ ।