कीवर्डहरू -

‘ठेगाना’ मोबाइल एप सार्वजनिक

‘ठेगाना’ मोबाइल एप सार्वजनिक

ठेगाना सर्भिसेजले ‘ठेगाना’ मोबाइल एप सार्वजनिक गरेको छ । हाललाई सो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा चलाउन सकिन्छ भने आइओएसमा एक हप्तापछि उपलब्ध हुने छ ।

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई ८५ करोड ३x३ वर्गमा विभाजित गरिएको हुन्छ र हरेक वर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ । यी कोडहरुले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जस मार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपतकालिन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारी साधनबाट एक ठाउँबाट अर्काे स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ ।

ठेगाना कोड हुलाकी सेवाको लागि मात्र उपर्यक्त नभएर वित्तीय संस्थाहरुलाई हालको केवाइसी नियम पालना गर्न परेको कठिनाइहरुको लागि पनि लाभदायक हुन सक्दछ । आफ्ना दैनिक कार्य सम्पादन गर्नुका साथै पेशा र ब्यावसाय सहज रुपमा फत्ते गर्न सहयोग पुर्याउने बिद्युतिय प्रणाली ठेगाना मार्फत नेपालको कुनैपनि स्थानको ठेगाना द्रुत गतिमा शेयर गर्न सकिन्छ ।

प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि ‘ठेगाना’ को उपयोग गर्न सकिन्छ । इन्टरनेट बिना अफलाइन पनि काम गर्ने यो एपले हरेक मोड–मोडको निर्देशन दिंदै यात्रुलाई बाटो देखाएर यात्रालाई सहज बनाइदिन्छ । ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन् ।

पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँदछ । उदाहरणको लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डौको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले KTM-P82746 देखाउँदछ । यसमा KTM काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको विद्युतीय ठेगाना भन्ने जनाउँदछ ।