कीवर्डहरू -

एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट केन्द्रिय सदस्यमा नवराज कुँवरको उम्मेदवारी

एफएनसीसीआईको चुनावमा क्यान महासंघबाट केन्द्रिय सदस्यमा नवराज कुँवरको उम्मेदवारी

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिती सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

आउँदो चैत्र २८ र २९ गते सम्पन्न हुन गईरहेको उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा क्यान महासंघले निवर्तमान अध्यक्ष नवराज कुँवरलाई १२३ वस्तुगत संघहरुको तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

क्यान महासंघले आइसिटीको जगमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, उद्योग व्यवसाय, सम्बन्ध र ज्ञान उभिएको बताउँदै यसको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउनका लागि सरकारसँग सहकार्य गर्न उम्मेद्वारी दिएको जनाएको छ ।

यस्तै डिजिटल साक्षरता बढाउन, इन्टरनेट सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवर्द्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारेको क्यान महासंघको भनाइ छ ।

क्यान महासंघ सूचना तथा संचारप्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरु र संघ-संस्थाहरुको छाता संगठन हो ।

महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरुको हक हितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धि अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचनाप्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिंदै आएको छ ।