कीवर्डहरू -

पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने, प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने

पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने, प्रदेशबाटै ड्राइभिङ लाइसेन्स उपलब्ध हुने

सरकारले पालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । बिहीबार सत्ता गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने कुरा समेटिएको हो ।

एउटै काममा धेरै कागजातहरू बुझाउनुपर्ने झञ्झट हटाउन राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण समावेश गरी पालिकाहरूबाट वितरण गर्ने व्यवस्था गर्ने बताइएको छ ।

त्यस्तै सबै प्रदेशबाट सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) उपलब्ध गराउने समेत साझा कार्यक्रममा समेटिएको छ ।

सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटरहित बनाउन तथा जनतालाई लाइनको सास्तीबाट मुक्त गराउनका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सरकारी अस्पताल, यात्रुवाहक सवारी साधन, ठेकापट्टा लगायतका सेवामा अनलाइन प्रणाली, टाइम कार्ड तथा टोकन प्रणाली लागू गर्ने कार्यक्रममा उल्लेख गरिएको छ ।

यसका साथै ई-बिडिबलाई थप प्रभावकारी बनाउने र सरकारले प्रदान गर्ने सेवामा लाग्ने समय एकतिहाइले घटाउने गरी प्रशासनिक सुधार गर्ने कुरा साझा कार्यक्रममा समावेश गरिएको छ ।