कीवर्डहरू -

तीन महिनाभित्र बाँकी स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट हुने

तीन महिनाभित्र बाँकी स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट हुने

काठमाडौँ । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र (लाइसेन्स)को प्रिन्ट गरिसक्ने जनाएको छ । मन्द्रास सेक्युरिटी प्रिन्टर्सलाई प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दाबी छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अबको तीन महिनामा प्रिन्ट र डेलीभरि गर्छौ, बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुन्छ, पहिलो चरणमै सात लाख ५० हजार स्मार्टकार्ड ल्याउँछौं ।’

विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ । मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालको भनाइ छ । प्रिन्ट गरेर सकिए लगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी भएको विभागले जनाएको छ ।

साढे दुई वर्षसम्म लाइसेन्स नपाउने वा नवीकरण नहुने समस्या २०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागु गरेपछि भएको हो तर विभागले दीर्घकालीन समस्याको समाधान खोज्न सकेको छैन । नत माग अनुसारको आपूर्ति नै गर्न सकेको छ । दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक एकहजार पाँचप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

हालसम्म आठ लाख ५६ हजार स्मार्ट लाइसेन्स वितरण गरिएको छ । नेपालमा करिब ३० लाख भन्दा बढी लाइसेन्स वाहक छन् । विभागसँग सात वटा प्रिन्ट मेसिन छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।