कीवर्डहरू -

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु

काठमाडौं। नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड मोवाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गरेको छ। नेपाल टेलिकमले सुरुमा यो सेवा भारत र चिनमा  मात्र सुरु गेरको छ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार मलेसिया, कतार, युएइ र दक्षिण कोरियामा निकट भविष्यमा सेवा सुरु हुनेछ।

अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन्।

त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन्।

चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा
प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ ।

भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ ।

भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै
शुल्क लाग्ने छैन ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभएको थियो । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो ।

अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा *1415# डायल गरेर लिन सकिने छ। कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी तथा सुविधा लिन सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिनेछ।