कीवर्डहरू -

नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्‍यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’

नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्‍यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’

नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गर्ने भएको छ । उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरूमा केन्द्रित हुनेछ ।

डिजिटल नेपाल फ्रेमवर्कमा केन्द्रित डिजिटल टक पोडकास्टले नेपालमा प्रविधिको पछिल्लो प्रवृति र विकासका बारेमा गहिरो छलफलका लागि प्लेटफर्म उपलब्ध गराउने छ ।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको पोडकास्टमा सरकारी अधिकारी, प्रविधिप्रेमी, नागरिक समाज, व्यवसाय/निजी क्षेत्र जस्ता विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन्, जसले डिजिटल नेपाल फ्रेमवर्कले देशको डिजिटल परिदृश्यलाई कसरी रूपान्तरण गरिरहेको छ भन्ने बारेमा आफ्नो विचार र अनुभवहरू साटफेर गर्न पाउनेछन् ।

यो पोडकास्टले देशमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न सरकारले तय गरेको डिजिटल नेपाल फ्रेमवर्कलाई थप सहयोग पुग्‍नेछ । साथै यसको माध्‍यमबाट दिगो विकासको लक्ष्य अनुरूप आर्थिक समृद्धिलाई थप उजार गर्ने, सरकारी सेवाहरूमा सुधार ल्याउने र नेपाली नागरिकको जीवनस्तर बलियो बनाउन टेवा पुग्‍ने छ।

यति मात्र नभएर देशभित्र  प्रविधि क्षेत्रमा भएका आविष्कार र डिजिटल उद्यमशीलतालाई हब बन्न प्रोत्साहनको बाटो तयार गर्नेछ ।

पोडकास्टले डिजिटल फाउन्डेसन, कृषिका लागि डिजिटल, स्वास्थ्यका लागि डिजिटल, शिक्षाका लागि डिजिटल, पर्यटनका लागि डिजिटल, वित्तका लागि डिजिटल र शहरी पूर्वाधारका लागि डिजिटल जस्ता डिजिटल नेपाल फ्रेमवर्कसँग सम्बन्धित विषयहरूलाई नजिकबाट नियाल्नेछ ।

डिजिटल नेपाल फ्रेमवर्कबारे सचेतना र जानकारी प्रदान गर्न, डिजिटल नेपालका विविध आयामहरूबारे छलफल गर्न, डिजिटल नेपालको सम्भावित रोडम्याप र सफलताको बारेमा छलफल गर्ने लक्ष्य लिएको छ ।

फ्रेमवर्कले विभिन्न क्षेत्रहरूमा पारिरहेको प्रभाव  र दैनिक जीवनमा शिक्षा, स्वास्थ्य, यातायात र रोजगारीलाई सहज बनाइरहेको छ भन्‍ने बारेमा पाठक, श्रोता र दर्शकले  लाभ लिन सक्‍ने नेपाल इन्टरनेट फाउन्डेसनको दाबी छ । पोडकास्ट युट्युब, स्पोटिफाई, एप्पल पोडकास्ट, हाम्रो पात्रो र नेपाल एफएममा सुन्न र हेर्न सकिने छ ।