कीवर्डहरू -

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन

नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरुले बिरोध प्रदर्शनसहित धर्ना दिएका हुन् ।

उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।

उनले भने, 'नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई एक हिसावले कर्मचारीको रुपबाट, उहाँहरुको रोजीरोटी खोसिएको छ, त्यसको विरुद्धमा धर्ना हो । २१७ जना नेपाल टेलिकममा कार्यरत प्राविधिक सहायक कार्यरत कर्मचारीहरुलाई निष्कासन गरेकाले यो धर्ना गरेका हौँ।'

उनले १५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु रहेको बताए । उनले कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द नगर्ने चेतावनी दिए ।

उनले भने, ' पहिलो माग हाम्रो २१७ जना कर्मचारीको पुनःवहाली, आउट सोर्सिङको अन्त्य गरियोस् भन्ने दोस्रो माग हो । लामो समय काम गरेका कर्मचारीहरुलाई निष्कासन गरेकोबिरुद्ध हामीले आन्दोलन गरेका हौँ । कर्मचारीको पुनःबहाली नगरीकन हाम्रो आन्दोलन जारी रहन्छ ।'

\"\"

उनले रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको बताए । उनले लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिनुपरेको बताए ।

उनले भने, ' रोजगारीको  ग्यारेन्टीको विषय संविधानको हक हो, रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकालेको छ। यो स्वेच्छाचारी ढंगबाट निकालिएको छ । लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिएका हौँ।'

उनीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य गर्, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको विरोध जनाएका थिए ।