कीवर्डहरू -

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि बिहीबारसम्म आवेदन दिन सकिने

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि बिहीबारसम्म आवेदन दिन सकिने

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (राष्ट्रिय आइसिटी अवार्ड) का लागि आवेदन दिने अन्तिम समय अब २ दिन मात्रै बाँकी रहेको छ ।

गत चैत २३ गतेदेखि खुला भएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि वैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ ।

उक्त दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई राष्ट्रिय आइसिटी पुरस्कार दिइने मन्त्रालयले जनाएको छ ।

यस वर्ष सरकारले यस वर्ष पाँच विधा नेसनल आइसिटी एक्सिलेन्स अवार्ड, नेसनल आइसिटी एक्सिलेन्स अवार्ड (वुमन), नेसनल आइसिटी इनोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) र नेसनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) मा राष्ट्रिय आइसिटी अवार्ड प्रदान गर्दै छ ।

माथिका यी अवार्डमा इच्छुकले आवेदन पेश गर्न सक्नेछन् । आवेदकले भर्नुपर्ने फारामको ढाँचा मन्त्रालयको वेबसाइट र सूचना प्रविधि विभागको वेबसाइट मा उपलब्ध रहेको छ ।

इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूले वैशाख ७ गतेभित्र  इमेल [email protected] वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा आवेदन दर्ता गराउन सकिने छ ।