पोखरा । कास्कीको रुपा गाउँपालिका ५, देउरालीमा अवस्थित विश्वशान्ति माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाइएकाे छ ।
दोस्रो राष्ट्रिय सूचना तथा प्रविधि दिवसको अवसर पारेर साे विद्यालयलाइ ‘नमूना स्मार्ट स्कुल’ घोषणा गरिएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको माध्यमले स्मार्ट स्कुलको उद्घाटन गरे ।
स्कुलमा प्रोजेक्टरको सहायताले अडियो तथा भिडियो माध्यमबाट पठनपाठन गराइने प्रध्यानाध्यापक वसन्त पहारीले जानकारी दिए।
स्मार्ट स्कुलका लागि ६० थान कम्प्युटर, स्मार्ट बोर्ड, सबै कक्षाकोठामा सिसि क्यामेरा तथा टिभी, प्रोजेक्टर लगायतका प्राविधिक उपकरण जडान गरिएको छ ।
गण्डकी प्रदेश ४ हजार ५ सय विद्यालयमध्येबाट रुपाको विश्वशान्ति माविलाई स्मार्ट स्कुलको लागि छनोट गरिएको हो। स्मार्ट विद्यालय छनोट प्रक्रियाको क्रममा विश्वशान्ति माविले विभिन्न आधार मापदण्ड पूरा गरेको थियो।
दोस्रो राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अनलाइनबाट डिजिटल नेपालको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली।
विद्यालयको भौतिक व्यवस्थापन, आर्थिक स्थिती, जनशक्ति, सरसफाई लगायत आधार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले माग गरेको प्रस्तावमा प्रस्तुत गरिएको थियो।
सातै वटा प्रदेशमा एक प्रदेश, कम्तिमा एक स्मार्ट विद्यालय स्थापना कार्यक्रम लक्ष्य सरकारले घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत सरकारले नेपाल टेलिकमसँग साझेदारी गरेको छ।